सरकारमा कहिले सहभागी होला कांग्रेसको शेखर-गगन समूह ?

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका लागि ८ मन्त्री र एक राज्यमन्त्री छुट्याउने सहमति बनेको थियो । त्यही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरूबीचको सहमतिमा मन्त्रालय भागबण्डा पनि टुंग्याएका थिए ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीभित्र मिलाउन नसक्दा पार्टीको भागमा परेका सबै मन्त्रालयमा मन्त्रीको नाम दिन सकेनन् । देउवाले १७ चैतमा प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तार ४ मन्त्रीको मात्रै नाम दिए । ८ मन्त्रीको नाम दिन ठिक्क पारेका देउवा पार्टीभित्रको डा. शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको इतर समूहले आफूहरूलाई तीन मन्त्रालय दिइनु पर्ने अड्डी कस्दै अन्तिममा नाम नदिएपछि ४ मन्त्री मात्र पठाउन बाध्य भए ।
देउवाले इतर खेमालाई २२ प्रतिशत अर्थात २ मन्त्री दिने बताएका थिए । तर, इतरपक्ष तीन मन्त्रालय नपाए सरकारमा जाने अडानमा अडिक छ । शेखरपक्षीय नेता तथा सहमहामन्त्री जीवन परियार तीन मन्त्रालय दिन सभापति तयार नहुँदासम्म आफूहरूले मन्त्रीको नाम नदिने बताउँछन् । उनले भने, ‘पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पनि तीन मन्त्रालय पाउनुपर्छ । नपाएसम्म हामीले मन्त्री बन्नेहरूको नाम दिन्नौ ।’
देउवाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई सरकारको नेतृत्व गरेर पठाएका छन् । त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महत, सहरी विकासमन्त्री सिता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई पठाएका छन् । चारै जना संस्थापनपक्षीय हुन् ।
देउवाले कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई इतर समूहबाट मन्त्री बनाउन खोजे पनि कोइरालाले तीन मन्त्री नदिँदासम्म नाम नदिने बताएपछि देउवाले संस्थापनमा चार नेतालाई मन्त्री मन्त्रीमा सिफारिस गरेका हुन् ।
कांग्रेसभित्र किचलोका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनीसँग ६ मन्त्रालयको जिम्मेवारी छ । प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।
देउवा निकट नेता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आन्तरिक विवाद मिलाउन गृहकार्य भइरहेकाले थप मन्त्रीहरूको नाम दिन केही समय लाग्ने बताए ।
देउवाले पछिल्लो पटक इतर समूहलाई मनाउन दुई मन्त्रालय र एक राज्यमन्त्री दिने सन्देश पठाएका छन् । तीन मन्त्रालय नपाउँदासम्म कुनै पनि प्रस्ताव स्वीकार्य नहुने सहमहामन्त्री परियारले बताए ।
राष्ट्रपति निर्वाचनदेखि सत्ता समीकरण बदल्ने घटनासम्म एकढिक्का देखिएको कांग्रेसभित्र मन्त्रिपरिषद् विस्तारमा आएर भने गुटगत कित्तामा विभाजित भएको छ । एकातिर इतर समूहलाई मिलाउनु पर्ने, अर्कोतर्फ संस्थापनमा पनि नेताहरूलाई सन्तुष्ट बनाउनु पर्ने चुनौतिमा देउवा छन् ।
देउवाले संस्थापनबाट एनपी साउद, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत, रामहरि खतिवडामध्येबाट दुई जनालाई मन्त्री बनाउन खोजिरहेका छन् । इतर समूहले धेरै भाग खोजेपछि देउवाको त्यो योजना सफल बन्न सकेको छैन ।
देउवा निकट नेताहरू एकथरी इतर समूहलाई तीन मन्त्रालय दिएर भए पनि मिलेर जानुपर्ने पक्षमा छन् । देउवालाई पनि त्यही अनुसारको व्रिफिङ गरिरहेका छन् । अर्कोथरी दुई मन्त्री दिँदा नाम नदिए सबै संस्थापन पक्षीय नेताहरूलाई मन्त्री बनाएर पठाउनु पर्ने सुझाइरहेका छन् । सहमतिमा नआए सबै संस्थापनका नेतालाई मन्त्री बनाएर पठाउनु पर्ने सुझाव दिनेमा मन्त्रीका आकांक्षीहरू रहेका छन् ।
देउवा भने मन्त्रालयका बारेमा शेखर पक्षसँग कुरा नमिली सबै मन्त्री नियुक्ति गर्दा राम्रो सन्देश नजाने भन्दै रोकिएक छन् । उनले कुन–कुन मन्त्रालय कसले लिने भन्ने कुरा मिलाउन चार जना मात्रै मन्त्री बनाइएको नेताहरूलाई बताउँदै आएका छन् ।
सकभर इतर समूहलाई मिलाएर उपनिर्वाचन अगाडि नै मन्त्रीका नाम प्रधानमन्त्री दाहाललाई दिने पक्षमा देउवा छन् । यदी सहमति भएन भने उपनिर्वाचनपछि मात्रै मन्त्रीका नाम सिफारिस गर्ने तयारी देउवाको छ । अहिले इतर समूहका नेताहरूसँग देउवाले अनौपचारिक कुराकानी गरिरहेका छन् ।










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया