सोमबार, माघ १९, २०८२

केपी ओलीमाथिको दुर्व्यवहारबारे एमालेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

मेरोन्यूज २०८० वैशाख १४ गते २१:१७

काठमाडौँ । नेकपा एमालेले मुलुकको पछिल्लो शान्ति सुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा न. ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याएर कारवाहीको माग गरे ।

उनले अध्यक्ष ओली आफ्नो गृह जिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएको समेत बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका ६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए ।

नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्यहार गर्नेलाई खोजी कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

“गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनु भएको छ । कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनु भएको छ”, नेता भट्टराईले भने ।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो ।

प्रतिक्रिया