सोमबार, माघ १९, २०८२

लगाएको सिक्री लुट्न नपाएपछि निराको हत्या

मेरोन्यूज २०८० वैशाख १७ गते १२:२५

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी निरा आचार्यको हत्या उनले लगाएको सिक्री लुट्न नपाएर गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

१० दिनअघि आफ्नै भाडा पसलमा सख्त घाइते अवस्थामा भेटिएकी निराले लगाएको सिक्री लुट्न नदिएपछि हत्या गरिएको प्रहरीले बताएको छ ।

उपचारका क्रममा त्यही दिन मृत्यु भएकी निराले लगाएको सिक्री प्रहरीले बानेश्वरको एक पसलबाट फेला पारेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं ल्याइँदै छ।

‘अहिलेसम्म लुटपाट गर्ने उद्देश्यले दुर्घटनावश हत्या भएको देखिन्छ। लुटिएको सुन भेटिएकाले लुटपाट नै हो की भन्ने छ। अब विस्तृत अनुसन्धान हुन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

प्रहरीका अनुसार सोधपुछमा विनोदले हत्या स्वीकार गरेका छन्। आफू डिप्रेसनको बिरामी भएको र बाटोमा हिँड्दै गर्दा पसलमा एक्लै देखेकाले लुट्न खोज्दा घटना भएको विश्वकर्माले प्रहरीसँग बताएका छन्।

‘त्यहाँ झगडा पनि भएको थियो। त्यसपछि म चक्कु प्रहार गरेर निस्किएको हुँ’, विनोदको भनाई उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।

विश्वकर्माले निराको हत्या गर्न प्रयोग गरेको चक्कु टीकाथलीस्थित खोलामा फ्याँकेको बयान दिएका छन्। विनोद टीकाथलीस्थित साथीहरूको कोठामा दुई सातादेखि बस्दै आएका थिए। निरा मातातीर्थ औँसीको दिन अपराह्न साढे ३ बजे आफ्नै पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन्।

उनको शरीरका विभिन्न भागमा अन्धाधुन्ध छुरा प्रहार भएको थियो। प्रहरीको प्राविधिक अनुसन्धानमा दिउँसो २ बजेर ४४ मिनेटमा मास्क लगाएका र पछाडि झोला भिरेका एक व्यक्ति उनको पसलमा छिरेको र २ बजेर ५६ मिनेटमा त्यहाँबाट निस्किएको देखिएको थियो ।

‘पसलभित्र सीसी क्यामरा नभए पनि बाटोको सीसी क्यामराले कभर गर्ने अवस्था थियो,’ प्रहरी भन्छ । त्यही सीसीटीभीका आधारमा संलग्न व्यक्तिको तस्बिर पाए पनि उनको पहिचान खुल्न सकेको थिएन।

प्रहरीका अनुसार ती व्यक्ति त्यहाँबाट पैदलै गोपीकृष्ण हलनजिकै पुगेका थिए। त्यहाँबाट टेम्पो चढेर चाबहिलसम्म पुगेका थिए।

चाबहिलबाट इनड्राइभबाट अफलाइन जडिबुटीसम्म मोटरसाइकलबाट गएका थिए। प्रहरीलाई ती इनड्राइभ चलाउने व्यक्तिलाई पक्राउ गरे पनि उनले कसलाई लिएर गएका थिए भन्ने पहिचान खुल्न सकेको थिएन। यही कारण प्रहरीलाई लामो समय लागेको थियो।

प्रतिक्रिया