प्रधानमन्त्रीसँग पत्रकारहरुको सवाल-जवाफ
‘एकचोटि त बिग्रिन्छ क्यारे भन्ने चिन्ता भएकै थियो, मोदीजीले नै वातावरण सहज बनाउन बढी इनिसियटिभ लिएको देख्छु’
यहाँ अहिले चाहिँ नभनौं, बरु उता (नेपाल) गएर तपाईंहरूसँग पछि कुरा गरौंला

भारत भ्रमण मै छु म अहिले पनि । यहाँ जे जति कुराकानी , भेटघाट र सम्झौता सहमतिहरु भए, जे होस् राम्रो भयो । कूल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीको रूपमा आएको हुँ म । गएका तीनवटा भिजिट, यद्यपि दोस्रो भिजिट स्टेट भिजिट थियो । राष्ट्रपति भवनमै बसेको थिएँ म । तर त्यतिबेला पनि अहिले जति मिडिया कभर छ इण्डियाका मेजर मिडिया टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्सदेखि सबैले जुन महत्वका साथ कभर गरेका छन्, त्यस्तो कहिल्यै हुँदैनथ्यो । कुनै प्रधानमन्त्रीको सन्दर्भमा हुँदैनथ्यो । यिनीहरूले अहिले अलि बढी नै महत्व दिएको प्रष्टै देखियो ।
अब आउटकम के भयो भन्दा हामीले हेर्दा पहिलेदेखि सबभन्दा बढी जोड दिएको भनेको बिजुलीको व्यापार । लङटर्म पावर ट्रेड हुन्छ कि हुँदैन भन्ने थियो । नेपालको साँच्चै भन्ने हो भने आर्थिक क्षेत्रमा समृद्धिको एउटा दिशामा जाने भनेको हामीसँग भएको जे पोटेन्सियल छ, त्यसको सही मार्केटिङ गर्न सक्दाखेरि नै हुने कुरा हो । त्यो भनेको वास्तवमा पावर ट्रेड नै हो । समस्या पनि त्यहीँ थियो । अहिले ब्रेक थ्रु भयो भनेको त्यसमा नै हो ।
अर्को बंगलादेश, भारत र नेपालको बीचमा अलग-अलग त समझदारी भइनैसक्यो । बंगलादेश र नेपालको बीचमा, बंगलादेश र भारतको बीचमा, भारत र नेपालको बीचमा । जुन स्तरमा अब सहमति भएको छ र त्यो पनि ठूलो कुरो भन्ने कुरा प्रष्टै महसुस गर्न सकिने कुरा हो ।
एयर रुटको कुरा हाम्रो लागि अलि बढी महत्वको थियो । एयर रुटमा लो अल्टिच्युडको नेपालगञ्जमा दिने त सहमति भयो नै । तर हामीलाई हाई अल्टिच्युड नै चाहिन्छ । मैले महेन्द्रनगरतिरबाट हुँदाखेरी सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा राखेको छु । उनीहरूले त्यसमा हामी पोजेटिभ छौं भनेको हुनाले त्यतापट्टी पनि यो एउटा सानो भए पनि ब्रेक थ्रु नै भयो ।
सिमानाको समस्या हाम्रो लागि अर्को चर्को कुरा थियो । हिजो प्रधानमन्त्री मोदी र मेरो बीचमा छलफल भइसकेपछि अब सधैंको लागि यो सिमानाको समस्या हल गर्नुपर्छ, गम्भीर रूपले लागौं भन्नुभाथ्यो मलाई । उहाँले प्रेसमा पनि बोल्नुभयो- सीमाको समस्या हल गरिन्छ भनेर । मलाई त कुरा गर्दाखेरी विश्वासै दिलाउनु भएको थियो । मोदीजीले अहिलेसम्म सीमाको समस्या हल गर्ने भनेर आफ्नो मुखबाट भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु नै मान्न सकिन्छ जस्तो लागेको छ मलाई ।
त्यसको साथै चेकप्वाइन्टहरू, रेल, पाइपलाइन यी सबै पनि पोजेटिभ नै छन् । यसले नेपालको आर्थिक गतिविधिलाई अगाडि बढाउन ठूलो मद्दत गर्छ भन्ने नै लागेको छ ।
भ्रमणमा सबैको आँखा त परेकै थियो । फेरि हाम्रो नेपालमा अलि बढी नेगेटिभतिर जाने भइयो के । कस्तो एटिच्युड बनेको मान्छे, पाठक सबै त्यस्तै भएकोले हामी सबै त्यस्तै भइया हो कि, स्रोता त्यस्तै भएको हुनाले नेता त्यस्तै भएको हो कि, नेता त्यस्तो भाकोले स्रोता त्यस्तो भा हो कि । यो बढी विचित्र लाग्छ ।
तै पनि अस्ति बेलुकाको स्थिति र हिजो बिहानबाट विस्तारै वातावरण सकारात्मक बन्दै गयो । र हैदरावाद हाउसको रिजल्ट आयो । एमओयू भयो, एग्रिमेन्ट भयो । त्यो सबैले मेरो बुझाइमा यो भिजिट धेरै नै महत्वपूर्ण भयो । धेरै राम्रो सुरुवात भयो । ब्रेक थ्रु त्यसअर्थमा भयो । अहिले नै सबैचिज भइहाल्यो भनेर त होइन । तर धेरै ठूलो कुराको सुरुवात चाहिँ यो भिजिटबाट भयो ।
बोर्डर इस्युको बारेमा हामीले कुरा गर्यौं । मैले यसलाई हल गर्नेबारे सोच्नुपर्छ, यो विषयलाई राखेर नेपाल९भारत सम्बन्धमा ब्रेक थ्रु हुनैपर्छ भनेर जसरी भनेको थिएँ त्यसबाट उहाँ अलि पोजेटिभ बन्दै गएको मैले फिल गरेको थिएँ ।
अर्को चाहिँ जलस्रोत र विद्युत व्यापार नै हो । उहाँको अलि बढी ध्यान यो क्लिन इनर्जीमा थियो । धेरै कुरा हाइड्रोजन इनर्जीतिर जाँदै छ नि त्यसको निम्ति एकदम छिटो विकास गर्नुपर्छ भन्ने उहाँको बढी इन्ट्रेस्ट थियो । सायद त्यहीकारणले उहाँले भन्नुभयो हिमालयको हाइटमा जान्छ ।
फेरि खुलेर कुरा गरियो । अब यहाँ अहिले चाहिँ नभनौं । बरु उता गएर तपाईंहरूसँग पछि कुरा गरौंला । तीनचोटी मेरो वान टु वान भयो उहाँसँग हिजो । छोटो पिरियडमा, पहिले झण्डै २०-२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो, त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला सुपर हिट र हिमालयको हाइटमा जान्छ भन्ने एउटा कन्फिडेन्स उहाँलाई बनेको देख्छु मैले ।
हामीलाई पनि अहिले नेपालको राष्ट्रिय इन्ट्रेस्टको निम्ति र दुई देशको सम्बन्ध बलियो बनाउने र आर्थिक गतिविधिलाई चलायमान बनाउने ऐतिहासिक आवश्यकता छ । हामीले यहाँ ब्रेकथ्रु नगरीकन उहाँ ब्रेकथ्रु हुँदैन । त्यसकारण धेरै मिहिनेत गरियो ।
एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, वातावरण सहज बनाउन ।
वान टु वान मिटिङदेखि अलि सम्हालिंदै आयो ।
अहिले धेरै किसिमले, धेरै सहमति पनि भएको र एउटा ब्रेक थ्रु नै भन्छु मैले । एउटा लङटर्म पावर एग्रिमेन्ट धेरै वर्षदेखिको हाम्रो चाहना थियो, नेपालीहरूको चाहना थियो, त्यो अहिले भयो । सिमानाको समस्या हल गर्नुपर्छ भनेर हामी मात्र भन्थ्यौं अहिले भारतले नै भन्यो । यी यस्ता कुरा, जसले नेपालको आर्थिक पनि राजनीतिमा पनि नेपालको ल्याण्डस्केपमा धेरै परसम्म महत्व राख्छ । त्यसकारण यही भ्रमण नै मैले मेरो लागि ऐतिहासिक मानेको छु । यो ऐतिहासिक भयो ।
हाइड्रोजन इनर्जीको कुरामा नेपाल र भारतबीचमा केही सहकार्य बन्न सक्छ । किनभने हाइड्रोजन इनर्जीको निम्ति क्लिन इनर्जी धेरै महत्वपूर्ण एलिमेन्ट रहेछ । त्यसो भएको हुनाले हामीसँग क्लिन इनर्जी प्रचुर भएको हुनाले र अब त्यसलाई हाइड्रोजन इनर्जीमा ट्रान्सफर्म गर्नको लागि त्यो चाहिने भएको हुनाले हामी दुई देशबीचको सहकार्य त्यसमा दुवैले महसुस गरेको मैले ठानें ।
नेपालमा हाइड्रो सेक्टरमा ठूलो लगानी गर्ने कुरा इन्टरनेशनल कम्पनीहरू डराउने कारण मार्केट छैन । नेपालमा त्यो उत्पादन गरेर सबै खपत गर्न सक्ने स्थिति हुन्न, भारत लिन तयार छैन भनेपछि मानिसहरू लगानी गर्न डराउनुको मुख्यकारण त्यो हो ।
अब हिजोको घोषणाले अब डर हरायो । अब नेपालमा १० हजार मेगावाटसम्म त १० वर्षमा जाने भयो भारत । भनेपछि, ठूलो स्केलमा लगानी गर्न अब मानिसहरू उत्साहित हुन्छन् र आउँछन् । त्यसअर्थमा त्यसको महत्व अलि रणनीतिक नै छ जस्तो लाग्छ ।
अहिले नै हामीसँग ३ हजार, ३५ सय, ३७ सयसम्म पुग्ने नै छ । अहिले पाइपलाइनमा रहेकालाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढायो भने १० हजार पुर्याउन सकिन्छ । तर दसैहजार यता बेचिन्छ भन्ने त होइन । मेरो जोड त देशभित्रै खपत बढाउनेलाई प्राथमिकता दिने हो । बेच्नेलाई पनि हो ।
तामाकोसीको कुरा गर्दाखेरि या हामीले दुईपक्षीय र रेष्ट्रिक्टेड मिटिङमा पनि र वान टु वानमा पनि जोड गरेको कुरा ग्लोबल टेन्डरबाट कसैले ठेक्का प्राप्त गर्यो भने त्यसको बिजुली लिन्न भन्न त बिल्कुल मिलेन भनेपछि हिजोबाट त्यो ढोका खुल्यो । लगानी नै कसैले गरेकोमा त उहाँहरूको रिजर्भेसन छ । सिधै नै बुझिएको कुरा छ । तर ग्लोबल टेन्डरबाट प्राप्त गर्यो भने त्यसबाट उत्पादित विद्युत नलिने भन्ने कुरा र्यासनल पनि हुँदैन र त्यो मिल्दैन ।
अर्काे कुरा अहिले चर्चा धेरै भयो सीमाको बारेमा । आज इन्डियन मिडियामा पनि कालापानीको चर्चा भएको कुरा र त्यसमा समाधान गर्नुपर्छ भन्ने स्प्रिटमा अगाडि बढेको कुरा त लेखेकै छन् । हामीले छलफल गर्दा विभिन्न विकल्प, एउटा त बंगलादेश मोडेल भन्ने गरिन्छ । बंगलादेश र भारतको बीचमा पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे । एउटा त्यो मोडेल हुनसक्छ ।
अर्को हामीलाई बंगलादेशसम्म सिधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहिँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ । हाम्रा विज्ञहरूको सुझाव त्यो आउने गरेकै छ । नेपालमा विज्ञहरूले त्यतापट्टि पाउने हो भने ठिकै छ भन्ने खालको नि कुरा आछ त्यो पनि हुनसक्छ । अथवा अर्को केही पनि हुनसक्छ ।
त्यसकारण विकल्पहरूबारे सोच्न सुरु भयो हिजोबाट । विकल्पबारे सोच्न सुरु हुनु नै ब्रेक थ्रु हो । त्यसो भएर मोदी जी बोल्नुभयो आफैंले । यो राखिराख्यो भने त नेपाल-भारत सम्बन्ध कहिल्यै पनि सहज भएन । यसलाई हल गरियो भने इकोनोमिक, कल्चरल अरु त छँदैछ हाम्रो । त्यसकारण हिजोबाट बाउन्ड्रीको बारेमा कन्स्ट्रक्टिभ डिबेट सुरु भयो ।
जहाँसम्म इपिजिीको प्रतिवेदनको विषय छ । नेपालमा हामी सबैले त्यो विषय अलि बढी गम्भीरतापूर्वक लिएको स्थिति त हो । तर मलाई के लाग्यो भने यो विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा फुकाउँदै जाने र पछि वातावरण बनाएर यो ईपीजी एउटा विन्दुमा गएपछि हुन्छ भन्ने ठान्छु ।
अहिले त यो विषय उठेन । उठाएर माहोल बिगार्नेतिर लागिएन । त्यसले माहोल बन्दैन भन्ने बुझियो । हुने कुरा पनि बिग्रिने गरी किन गर्ने रु राम्रा काम अगाडि बढाउँदै गएपछि यो पनि हुन्छ भन्ने छ मेरो ।
पञ्चेश्वरको इस्युमा हामी छलफल गर्दै जाँदा एउटा यस्तो विन्दुतिर गयौं । पहिला पञ्चेश्वरको कुरामा, तल्लो शारदामा प्रयोग भएको पानीको कुरा थियो मुख्य त । त्यसले महाकाली सन्धिमा तल्लो शारदाको चर्चा पनि छैन, केही पनि छैन । हामी कता गएर अप्ठ्यारोमा परियो भने तल्लो शारदा आइदिने, एक्जिस्टिङ युज अफ वाटर भन्ने कुरा आउनी, त्यसपछि महाकाली सन्धि, पञ्चेश्वर अगाडि नबढ्ने ।
अहिले चाहिँ हामी यी सबै कुरा छोडेर महाकाली सन्धिलाई नै केन्द्रविन्दु बनाएर पहिला त्यो अनुसार डीपीआर तयार गर्ने । डीपीआर तयार गरेपछि त बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । यो बाटोबाट छिरियो के अहिले । छिर्नलाई छिर्यो पञ्चेश्वर । नेपालमा र पहिला भारतमा पनि जसरी छलफल भएको थियो त्यो रूपमा छिरेन । नयाँ रूपमा चाहिँ यसलाई अगाडि बढाउने भन्ने चाहिँ भयो ।
भारत भ्रमणको ठिक अगाडि नागरिकता विधेयक प्रमाणीकरण भयो । कतिपयले यो संयोग थियो कि के थियो ? भनेको पाए सञ्चारमाध्यमहरुमा ।
मैले त धेरै पहिले नै राष्ट्रपति जीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । त्यो तपाईंहरुलाई पनि थाहा छ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो, मैले बुझ्दाखेरि । धेरैपटक राष्ट्रपतिजीसँग कुरा भएको थियो नि त । म चाहन्थें कि अलि पहिल्यै होस् । मेरो भारत भ्रमणसँग यो नजोडियोस् भन्ने मेरो चाहना स्वतः थियो । तर राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पार्नुभयो । त्यो बारेमा डिबेट पनि भयो । यो संयोग हो ।
(नयाँ दिल्लीमा नेपाली पत्रकारसँग प्रधानमन्त्री प्रचण्डले गरेको कुराकानीको सम्पादित अंश)

















अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया