नक्कली भुटानी शरणार्थी प्रकरण
न्यायाधीश न्यौपानेको सरकारी वकिललाई प्रश्न : कसरी यो मुद्दा संगठित अपराध भयो ?
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिलअरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई लगाइएको आरोप पुष्टि गर्ने प्रमाण खोइ भन्दै पटक–पटक प्रश्न गरेका छन् ।
यस प्रकरणमा प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौँले ६० दिन अनुसन्धान गरी ३० जनाविरुद्ध १० जेठमा अभियोजन दायर गरेको थियो । त्यो अभियोजनमाथि आइतबारबाट थुनछेक बहस चलिरहेको छ । थुनछेक बहसमा आइतबार र सोमबार सरकारी वकिलले आफूहरूले पेस गरेको अभियोजनलाई पुष्टि गर्नेगरी गरिरहेको बहसका क्रममा न्यायाधीश न्यौपानेले पटक–पटक आरोप पुष्टि गर्ने प्रमाण के छ भनेर सोधिरहेका हुन् ।
सरकारी वकिलले ठगी, संगठित ठगी, राज्यविरुद्धको अपराध र कीर्ते गरी चार आरोप लगाएको छ ।
न्यायाधीश न्यौपानेले इजलासमा यी आरोपबारे पटक–पटक ‘कसरी यो प्रकरण संगठित अपराध भयो ? यसको स्रोत तथा अपराधीबीचको साँठगाँठलाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’ भनेर प्रश्न सोधेका थिए ।
मुद्दामा संगठित अपराध रहेको दाबी गर्दै मुद्दा दायर भए पनि पर्याप्त प्रमाण पेस प्रहरी र सरकारी वकिलले पेस गर्न सकेका छैनन् । त्यसप्रति न्यायाधीश न्यौपानेले जिज्ञासा राख्दै सोधेका थिए ‘बनाउँदाखेरी कुनै टेक्निक, प्रविधिका आधारमा बनाए कि, के आधारमा बनाए, कुनै स्रोत छैन ? यसमा सबैलाई लिंकेज गराउने संगठित अपराधको मुद्दा हो । त्यो भएन भने यो मुद्दा छिन्नभिन्न हुन्छ । त्यस्तोमा प्रमाणै यस्तो छ । फोटो बनाउन मिल्दैन र ?’
केवल फोटोको आधारमा कसैबीच कुनै अपराधका लागि साँठगाँठ छ भन्न मिल्ने आधार र फोटोको वैधानिकता के हो भन्ने न्यौपानेको इजलासमा प्रश्न थियो ।
न्यायाधीश न्यौपानेले अपराधको नेक्सस देखाउनुस् न, गृह सचिवको टेबलमा फेला प¥यो भन्दैमा त्यो कागजात उनैले बनाएका हुन् भन्न मिल्छ र ? भन्ने प्रश्न पनि सरकारी वकिललाई गरेका थिए ।
त्यस्तै न्यौपानेले जानाजानी झूटो कागजात तयार पारेर नक्कली परिचयका साथ विदेश जान तयार जाहेरीवालाहरू कसुरका भागिदार हुन् कि होइनन् ? उनीहरूलाई प्रतिवादी नबनाउने हो भने यो त ठगी मात्रै हो, कसरी संगठित अपराध भयो त ? भन्दै जिज्ञासा राखेका थिए ।
जवाफमा न्यायाधिवक्ताले प्रतिवादीहरूबीच अपराधसँगको नेक्सस देखिने दाबी गरे । ‘सँगैको फोटो देखेपछि केही कनेक्टिभिटी देखिन्छ, एकले अर्कोलाई चिनेको छ भनेर नेक्सस देखिन्छ,’ सरकारी वकिलको जवाफ थियो । पीडितहरूबाट उठाएको रकम एउटाबाट अर्कोको खातामा गएको, एकअर्कालाई बयानका क्रममा पोल गरेकोजस्ता आधारमा यस अपराधका लागि उनीहरू मिलेको र संगठित भई अपराध गरेको पुष्टि हुने सरकारी वकिलहरूले जवाफ दिएका थिए ।
मुद्दा ‘ह्वाइट कलर क्राइम’ भएको भन्दै प्रमाणको अभाव हुनसक्ने, तर प्रतिवादीहरूलाई थुनामै राख्नुपर्ने तर्क गर्दै सरकारी वकिलहरूले सामान्यतया, अहिंसात्मक भए पनि सार्वजनिक भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण तथा ठगीजस्ता अपराध यो श्रेणीमा आउने र ठूला तथा शक्तिशाली नै संलग्न रहने भएकाले प्रमाण भेट्न मुस्किल हुने बताएका थिए । यस्ता मुद्दामा पारम्परिक अपराधजस्तो तमसुक वा बैंकमा रकम भेटिँदैन । पन्जा लाएर गरिएको अपराधजसरी हुने भएकाले प्रमाण भेटिन्न । नष्ट गर्दै, फाल्दै जान्छन् । मोबाइल फम्र्याट गर्छन्, खोलामा फाल्छन् भन्ने जवाफ पनि सरकारी वकिलहरूको थियो ।
भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रलोभनमा करोडौँ रकम ठगी गरेको अभियोग लागेकाविरुद्धको थुनछेक बहस मंगलबार पनि निरन्तर रहने छ । आइतबारबाट सुरु बहसमा इजलासले थुनछेक बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएको थियो भने जाहेरवालाका तर्फबाट पनि आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा हालिसकेका छन् ।
विपक्षीका तर्फबाट भने पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत प्रतिरक्षामा उत्रिँदै छन् ।
केशव दुलालसमेत ३० जनाउपर सरकारी वकिलले लिखत किर्ते, ठगी, राज्यविरुद्धको कसुर तथा संगठित अपराधमा मुद्दा चलाएको थियो ।
प्रतिवादीमध्ये १८ जनालाई पक्राउ गरिएको छ भने १४ जनालाई फरार प्रतिवादी बनाई मुद्दा दायर भएको हो । प्रतिवादीहरूमा पूर्वमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतका उच्चपदस्थसमेत छन् ।
पक्राउ परेकाहरूमाथि २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै १० जेठमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया