मंगलबार, माघ २०, २०८२

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

मेरोन्यूज २०८० जेठ २३ गते १५:३६

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ ।

सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ,’ उनले भने । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुन सक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नु पर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया