शनिबार, वैशाख ५, २०८३

चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने

मेरोन्यूज २०८० जेठ २७ गते २१:२६

काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले जानकारी दिए ।

चलचित्र नृत्य प्रतियोगितामा विद्यालय तहका १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्ने छन् । चलचित्रका राष्ट्रिय भावका वा शिष्ट गीतमा ८–१२ जना सहभागी भएको र छात्रछात्राको सङ्ख्या बराबरी रहेको सामूहिक नृत्यलाई मात्र प्रतियोगितामा सहभागी गराउन सकिने छ ।

प्रतियोगिताका लागि दाङ जिल्लास्थित २० विद्यालयले सहभागी जनाउने प्रतियोगिता संयोजक आदिम केसीले बताए । असार १ गतेदेखि ३ गतेसम्म हुने महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, नायिका झरना थापा, गायिका सत्यकला राई, नायक सविन श्रेष्ठ लगायतका कलाकार दाङ आउने भएका छन् ।

बोर्डका प्रवक्ता एवं महोत्सवका संयोजक बुढाथोकीका अनुसार बोड अध्यक्ष एवं नायक केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्ने छन् ।

बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, ‘बालबालिकासँग भुवन केसी’, पुस्तक तथा फोटो प्रदर्शनी तथा अन्तरर्किया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

साथै, महोत्सवमा स्थानीय समुदायका लोक नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

प्रतिक्रिया