मंगलबार, माघ २०, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण

खाणलाई फसाउन प्रहरीले नक्कली अभियोग तयार गर्‍यो : बार अध्यक्ष घिमिरे

मेरोन्यूज २०८० जेठ ३१ गते १३:४१

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई फसाउन प्रहरीले नक्कली अभियोग खडा गरेको बताएका छन् ।

जिल्ला अदातल काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको छुनथेक बहसमा खाणकोृृ पक्षबाट भाग लिँदै अध्यक्ष घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर तीन पटकसम्म बयान लिएको बताए । खाणको नाम प्रहरीले जबरजस्ती पोल्न लगाएको पनि खाणले बताए ।

‘प्रहरीले खाणविरुद्ध प्रमाण आफैँ बनाएर फसाएको छ । केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । अहिले उनले इन्कारी बयान दिएका छन् । जबर्जस्ती कसैले बोलेको भरमा कुनै प्रमाण नै नपुगी फसाउन पाइन्छ ?,’ घिमिरेले बहसका क्रममा भने, ‘केशव दुलालले गृह मन्त्रालय पुगेर पैसा दिएको भनिएको छ । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन ।’

खाण गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरी दोहोरो बयान लिएर खाणको नाम मुछ्न लगाएको आरोप घिमिरेले लगाए । सरकारी वकिलले पनि प्रहरीले गरेको अनुसन्धन ठीक छ कि छैन भनेर नहेरेको उनले बताए ।

पुरानो सरकारले गरेका नीतिगत निर्णयहरू कार्यान्वयन गरेर खाणले के अपराध गरे भन्ने प्रश्न घिमिरेले इजलाससमक्ष गरे । ‘बालकृष्ण खाणले कुन अपराध गरे ? अघिल्लो सरकारले गरेका नीतिगत निर्णय मात्रै अगाडि बढाएका हुन् । अघिल्लो सरकारको कामलाई निरन्तरता दिनु चाँही जिम्मेवारी हो । २०७५ साल मंसिर २ गते निर्णय भएको रहेछ । २०७६ साउन २ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल हुँदा समिति बनेको रहेछ । पछि त्यही कामलाई खाणले २०७९ सालमा निरन्तरता दिइएको छ । त्यो पनि ठोस राय दिनका लागि भनेर । अघिल्लो सरकारले गरेको कामलाई अगाडि बढाउँदा कहाँनेर अपराध भयो ?’ घिमिरेले भने ।

उनले बालकृष्ण खाणको साथबाट बरामद गरिएको भनिएको कागज पनि नक्कली भएको उनको भनाइ थियो । ‘कागजमा कसैको हस्ताक्षर छैन । खाण आफैंले पनि स्वीकार गरेका छैनन् । कहाँबाट बरामद गरेको भन्ने पनि छैन । त्यस्तो चिजलाई सरकारी वकिलले प्रमाणको रुपमा लिएको छ,’ उनले भने ।

घिमिरेले खाणलाई हचुवाको भरमा अभियोगपत्र ल्याइएको दाबी गरे। डायरीमा लेखेका भरमा लेनदेन भएको भन्न नमिल्ने भन्दै उनले हस्ताक्षर नै नभएको कागजपत्र पेस गर्दैमा अभियोग प्रमाणित नहुने बताए ।

प्रतिक्रिया