सोमबार, पुष ७, २०८२

काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छः मन्त्री ज्वाला

मेरोन्यूज २०८० असार ४ गते १४:५१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीसहित दु्रतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताए । समयमा नै काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले ढिला भएको उनले बताए ।

मन्त्री ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको बताए । उनले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताए ।

ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनाशायले योजना छनोट नगरेको बताए । उनले मन्त्रालयले विभेदपूर्ण रुपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताए ।

उनले संघीय अन्तरगतका सडकहरुमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताए । बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको उनले बताए।

प्रतिक्रिया