शुक्रबार, फागुन ८, २०८२

सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्छ : नेता महर

मेरोन्यूज २०८० साउन १४ गते १२:३७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले ‍औंल्याए। ‘कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ।’ उनले भने ‘हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन। वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन। त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौं,’।

मन्त्रिपरिषद्‍बाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिने काममात्र गर्न नहुने बताउँदै उनले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकताको विषय के छ ? भन्ने पहिचान गरेर सरकारले सो अनुरूप काम गर्न सक्नुपर्ने बताए।

‘अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ। लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ। यसले किसानहरू ठूलो मारमा परेका छन्। सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन। सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। त्यो हुन सकेन,’ महरले भने।

किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।

यो एउटा उदाहरणमात्रै भएको बताउँदै उनले यस्ता जनजीवनसँग जोडिएका थुप्रै सवालमा सरकार गम्भीर बन्नु पर्ने बताए। ‘किसानलाई समयमै मल खादको व्यवस्था गरिनु पर्छ। वर्षातको समय छ। डुबान र बाढी पहिरोको जोखिम छ। दैविक प्रकोपबाट आउन सक्ने सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गर्न सरकारले बेलैमा उच्च तयारी गर्नुपर्छ’, महरले भने।

साथै भ्रष्टाचार न्यूनीकरणमा समेत सरकारको ध्यान उच्चताका साथ जानुपर्ने महरले बताए। ‘विमान स्थलबाट कुन्टलका कुन्टल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक हो। यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ। जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छु, उनले भने।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीलाई पनि उनले जनपक्षीय काम गर्न सरकारलाई झकझक्याउन आग्रह गरेका छन्।

गठबन्धन दलकै नेताहरूबाट चितवनका हरेक संघ संस्थामा कांग्रेसलाई बाइपास गर्न खोजिएको बताउँदै नेता महरले त्यो आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन्। गठबन्धनको सबै भन्दा ठूलो सत्ता साझेदार दल कांग्रेस नै रहेकाले चितवनमा कांग्रेसलाई बाइपास गर्न खोजिए त्यो कसैका लागि राम्रो नहुने बताएका हुन्।

प्रतिक्रिया