चितवनमा रविले सुरु गरे महिलाहरूका लागि निःशुल्क ‘ब्लुबस’ सेवा

काठमाडौा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् ।
सांसद निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आजबाट उनले ब्लु बस सञ्चालन गरेका हुन् । बस सञ्चालन भएपछि जिल्लावासी महिलालाई सहज हुने विश्वास लामिछानेले व्यक्त गरेका छन् ।
‘मलाई थाहा छ बस सञ्चालन संघीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन,’ उनले भने, ‘तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ ।’
सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने बताए । उनका अनुसार पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध हुनेछ ।
वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको उनले जानकारी दिए । यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियानका क्रममा आफ्नो सचिवालयका लागि एक जना प्रमुख कार्यकारी अधिकृतमा एक जनाको नियुक्ति गरेको बताए ।
आजैबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने उनको भनाइ छ ।
चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे । यस्तै सार्वजनिक शिक्षा सुधारका लागि उनले कक्षा ११ र १२ का लागि नमूना कक्षा सञ्चालन गरेको जनाउँदै बाँकी विद्यालयहरू सुधारोन्मुख बनाउन लागिपरेको बताए ।
‘स्वस्थ्य चितवन’ अभियान सञ्चालन गर्ने जानकारी दिँदै निर्वाचन क्षेत्र नं २ का नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउनेसमेत जानकारी दिए ।









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया