मनकी धनी ‘पियारी आमा’

नवलपरासी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।”
गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन्।
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छिन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ ।
विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छिन् । “मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न”, उनले भनिन्, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।”
पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।
पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । “अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ”, उनले भने। अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ ।
शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए। “शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, उनले भने ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया