शनिबार, फागुन ९, २०८२

माओवादी केन्द्रीय समिति बैठक

प्रचण्ड : राजनीतिमा सफल, संगठनमा असफल

पिरामिड शैलीमा पार्टी चलाउनुको साटो छाता आकारमा संगठन चलाउने प्रचण्डको शैली असफल

शितल शर्मा २०८० साउन २० गते १०:००

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डेढ वर्षपछि साउन १७ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा फेरि केन्द्रीय समिति थप गर्ने प्रस्ताव ल्याए ।

Advertisement
nepal life insurencenepal life insurence

विधान अनुसार, केन्द्रीय कमिटि बैठक बसाल्न नसकेको, जम्बो केन्द्रीय समिति बनाएको र केन्द्रीय समिति महाधिवेशन प्रतिनिधिको मतबाट चुन्ने भन्दा नेताहरुको तजविजीका आधारमा चयन गरिएको जस्तो आरोप प्रचण्डमाथी लागिरहेका बेला फेरि उनले केन्द्रीय समिति थप गर्ने प्रस्ताव १७ साउन देखि सुरु भएको केन्द्रीय समिति बैठकमा ल्याएका थिए ।

त्यसरी आएको प्रस्ताव केन्द्रीय समितिको जारी बैठकमा अनुमोदन समेत भईसकेको छ । त्यही अनुसार जारी बैठकमै थप भएका नेताहरुको प्रवेश समेत भईसकेको छ ।

नेताहरुलाई फकाउन पनि प्रचण्ड माहिर नै देखिएका छन् । केन्द्रीय समितिको आकार बढाउँदै लैजादा आलोचनाको केन्द्रमा पर्छु भन्ने पनि प्रचण्डलाई थाहा छ । तर पनि उनले नेताहरुलाई फकाउने कला जानेकै छन् । १७ साउनको केन्द्रीय समितिमा पनि उनले नेताहरुलाई फकाउँदै भने, –‘विधान धेरै पल्ट मिचेका छौं । सर्वाेच्च नेतृत्व देखि हामी सवैले मिचेका छौं, त्यसमा पनि मुख्य नेतृत्वले यसको जिम्मा लिनुपर्छ । अब देखि विधानको सम्मान गरिनेछ । विधान अनुसार चल्न संकल्प गर्नेछौं । राज्यका निकायमा ३३ प्रतिशत महिला अनिवार्य र पार्टीको विधानमा ३५ प्रतिशत अनिवार्य ब्यवस्था गरिएको छ । युवा, दलितको प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ । कमिटि बनाउँदा आफुले चिनेका पर्नेपर्ने र नचिनेका तर काम गर्न सक्ने क्षमता र योग्यता भएका छुटने गरेकोले पनि समस्या निम्तिरहेको छ । यो अव विधान सम्मेलन र विशेष महाधिवेशनसम्मका लागि मात्रै हो । विधान सम्मेलन र विशेष महाधिवेशनसम्म यो संगठनको बाध्यता बुझिदिन म आग्रह गर्छु । त्यसपछि निर्ममतापूवर्क पार्टीको संगठन पूर्नगठन गरेर ४०९ लाई ९९ मा झार्ने हो । ४०९ लाई ९९ मा ल्याउनु पर्दा हाम्रो गति के होला रु त्यो नगरी सुखै छैन, नत्र भीड मात्र हुन्छ ।’

प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा यसरी केन्द्रीय समिति थप गर्ने प्रस्ताव राखे । नेताहरुलाई प्रचण्डको यस्तो प्रस्ताव चित्त बुझेको छैन । तर हुँदैन भनेर बोल्ने हिम्मत पनि नेताहरुसँग छैन ।

जसकाकारण प्रचण्डको प्रस्ताव केन्द्रीय समितिमा अनुमोदन भईसकेको छ ।

प्रस्ताव अनुमोदनसँगै थप हुने नेताहरु पार्टीको जारी केन्द्रीय समिति बैठकमा सहभागी समेत भईसकेका छन् ।

तर यसले माओवादीको संगठनात्मक भद्रगोलतालाई भने झ्याङगै नङग्याईदिएको छ ।

प्रचण्डले पार्टीको संगठनलाई भद्रगोलमा छोडेको यो पहिलो पटक होइन । उनले यस अगाडी २०६३ जेठ ६ मा विभाजित माओवादी धाराका पार्टीहरुको एकताका क्रममा पनि झन् भद्रगोलतामा संगठनलाई हेलेका थिए । उनले त्यसवेला केन्द्य्रीय समिति ४९९ बनाउने भनेपछि त्यो क्रमशः बढेर ५ हजार बढी हुन पुगेको थियो ।

बेला बेला प्रचण्डले केन्द्रीय समितिमै यसरी मनलाग्दी विधान संशोधन गदै नेता थप गर्न थाल्दा केही नेताहरुले ब्याङग्य गदै सोध्थे पनि– यो आमसभा हो की पार्टी बैठक ? ठिक अहिले नेताहरुले जारी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रस्ताव अनुमोदन गरेपनि संगठनात्मक सवालमा भने प्रचण्ड असफल भएको टिप्पणी गर्न थालेका छन् ।

प्रचण्डले पार्टी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक दस्तावेजमा समेत पार्टी पुनर्निर्माण र विघटनको दोसाँधमा रहेको बताएका थिए। प्रतिवेदनको भूमिकाको पहिलो वाक्यमै भनिएको थियो, ‘हाम्रो पार्टी व्यापक पुनर्निर्माणको सम्भावना र विघटनको खतरामा छ।’

प्रचण्डको नेतृत्वलाई माओवादीभित्र चुनौति दिईहाल्ने नेता जन्मेका छैनन । प्रचण्डको उत्तराधिकारी को बन्ने भन्नेमा भने माओवादीभित्र विवाद छ । नेताहरुका आ आफना तयारी र तारतम्य पनि छ । तर प्रचण्डलाई पराजय गरेर नेतृत्व नै लिन्छु भन्नेमा अहिले कोही नेताहरू देखिएका छैनन । तर सांगठनिक रूपमा प्रचण्डले जे जति कमजोरी गरेका छन्, त्यो नेतृत्वबाटै भएको छ भन्ने नेताहरूले जारी बैठकमा ब्यक्त गरिरहेकै छन् ।

‘राजनीतिक रूपमा प्रचण्डको विकल्प माओवादीले खोज्दैन। तर संगठनात्मक रूपमा उहाँको उपादेयतामाथि प्रश्न उठेको छ। जसलाई पनि हुन्छ भन्ने तर ठोस रूपमा जान नसक्ने भन्ने आलोचना अधिकांश केन्द्रीय सदस्यबाट भएको छ।’ माओवादीका एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने ।

प्रचण्ड राजनीतिमा भने सफल देखिएका छन् । उनको यो चार्तुयतालाई पार्टी केन्द्रीय समिति बैठकमा प्रशंसा पनि भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता राजनीतिक एजेण्डा माओवादीको हो । त्यसको नेतृत्व प्रचण्डले नै गरेका थिए । अहिले पनि राजनीति प्रचण्ड वरिपरि नै घुमिरहेको छ । तर संगठनात्मक हैसियतमा प्रचण्ड र माओवादी कमजोर छ ।

संसदको अंकगणितमा ३२ सिट भएको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । भष्टाचारका फाइल खोल्ने काम पनि प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको छ । कहिले लेफट् कहिले राइटको पाइला चालेरै भएपनि प्रचण्डले राजनीतिलाई आफुकेन्द्रीत बनाएर घुमाईनै रहेका छन् । भलै यो उनको माओवादी केन्द्रीत राजनीतिले कतिसम्म पर थेग्छ ? त्यो समयले बताउँला । तर, राजनीतिमा प्रचण्ड सफल देखिन्छन् ।

माओवादीको जारी बैठकमा पनि प्रचण्डले राजनीतिमा लिईरहेको स्टेप सही र सफल प्रयोगकै रुपमा विश्लेषण र बहस भईरहेको छ । तर उनले छाता आकारमा बनाईरहेको संगठनात्मक प्रणालीमा भने उनी असफल भएको खुल्ला चुनौति उनलाई पार्टी नेताहरुले दिन थालेका छन् । पीरामीड शैलीमा पार्टी चलाउनुको साटो छाता आकारमा संगठन बनाउने, जनताबाट कट्ने पार्टी माओवादीको बनिरहेकोमा नेताहरुले प्रचण्ड चिन्ता पार्टी बैठकमा गरिरहेका छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया