बिहीबार, माघ २२, २०८२

एकै दिन नक्कली शैक्षिक प्रमाणपत्र भएका सांसद्सहित पाँच डाक्टर सिआईबीको नियन्त्रणमा

मेरोन्यूज २०८० साउन २५ गते २०:५२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एकै दिन नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा ५ चिकित्सकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा एक बहालवाला प्रतिनिधि सभा सदस्यसमेत रहेका चिकित्सक पनि छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ बाट विजयी भएका डा. सुनिल शर्मासहित सिआईबीले पाँच चिकित्सकलाई नियत्तणमा लिएको निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

बज्राचार्यका अनुसार पक्राउ पर्ने अन्य चिकित्सकहरूमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।

सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना पक्राउ परेको बज्राचार्यले जानकारी दिइन् । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।

सांसदसमेत रहेका डा. शर्मालाई पक्राउ गरिएकोबारे सीआईबीले संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया