बिहीबार, माघ २२, २०८२

बहालवाला ४ सांसदलाई फौजदारी मुद्दा, २ पक्राउ, २ निलम्बनमा

मेरोन्यूज २०८० साउन २५ गते २१:२३

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका बहालवाला ४ सांसदलाई फौजदारी अपराधको मुद्दा लागेको छ । तीमध्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना निलम्बनमा परेका छन् ।

जनताबाट चुनिएको ८ महिनाभित्रै फौजदारीजस्तो जघन्य अपराधमा ४ सांसद मुछिएका हुन् ।

बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत निर्वाचनमा मोरङ–३ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद डा. सुनिल शर्मालाई
नक्कली सर्टिफिकेट बनाएको आरोपमा पक्राउ गरेको छ । सांसद शर्मा पक्राउ परेको जानकारी सीआईबीले संघीय संसद सचिवालयलाई दिइसकेको छ।

प्रतिनिधिसभामा अर्घाखाँचीबाट एमालेका तर्फबाट निर्वाचित सांसद (हाल निलम्बित) टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका थिए। एमालेका सचिव समेत रहेका उनलाई पार्टीले निलम्बन समेत गरिसकेको छ।

यस्तै मनाङबाट निवार्चित टेकबहादुर गुरुङलाई पनि भ्रष्टाचार जस्तो फौजदारी कसुरमा मुछिएपछि संघीय संसद सचिवालयले निलम्बन गरेको छ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो।

एमालेबाट निर्वाचित लक्ष्मी महतो कोइरी पनि निलम्बित छन्। जनता समाजवादी पार्टीबाट बाहिरिएर नेकपा एमालेमा प्रवेश गरेर उनले महोत्तरी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए। उनले माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराएर चुनाव जितेका थिए। उनै सांसद कोइरी अहिले निलम्बित छन्। कोइरीविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको छ।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा उनी जोडिएका थिए।

प्रतिक्रिया