शुक्रबार, माघ २३, २०८२

सुन तस्करी आरोपमा पक्राउ परेका ७ चिनियाँसँग नेपाली नागरिकता

मेरोन्यूज २०८० भदौ १ गते १७:११

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता रहेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले फेला पारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुनको मालिक खोज्ने क्रममा पक्राउ गरेका सात चाइनिजसँग नेपाली नागरिकता भेटिएको हो ।

सातै जना चाइनिजले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता राखेका भेटिएको सीआईबीबाट यो प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ परेका थिए । त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्तीयन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए। उनीसँग नेपाली र बेल्जियम नागरिकता रहेको खुलेको थियो।

सुन प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गते मात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। माथि उल्लेख भएका सबै चिनियाँ नागरिकबाट नेपाली नागरिकता बरामद भएको र सबैको जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता भेटिएको सीआईबी स्रोतले जानकारी दियो ।

सुन साउन २ गते राजस्वको टोली फेला पारेको थियो । भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा टोलीले फेला पारेको हो ।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो।

प्रतिक्रिया