सोमबार, चैत ३०, २०८२

जलविरे झरनाबाट २८ लाख राजस्व संकलन

मेरोन्यूज २०८० भदौ ३ गते ८:४५

भरतपुर । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।

झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई २० लिने गरेको गाउँपालिकाले जनाएको छ ।

यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन्। क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौं र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन्।

विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति पाँच सय, वनभोजकोएक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ।

जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए। अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन्। भारतबाट समेत पर्यटक आउने गरेका छन्।

दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको गुरुङले जानकारी दिए। ‘नयाँ वर्षका दिन एक हजार ५०० जना आएका थिए’, उनले भने, ‘जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन्।’ झरनामाथि रहेको गाउँ याकराङमा होमस्टेको समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १०२ मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ। सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ। हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ। ​२०६९ सालदेखि पर्यटन विकास शुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ।

प्रतिक्रिया