कांग्रेसमा मनोनयनमा देउवाको मनलाग्दी
भ्रातृ संस्था, विभाग र समितिमा आफ्नामात्रै दुई तिहाइभन्दा बढी

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पाटीभित्र मनोनयन गर्ने स्थानमा ‘मनलाग्दी गरेका छन् । उनले पार्टीका विभाग, भ्रातृसंस्था, समिति, सुभेच्छुक संस्थालगायतमा मनलाग्दी गर्दै आफ्नो पक्षका दुई तिहाइ बढीलाई नियुक्त गरेका छन् ।
गत शुक्रबारमात्रै देउवाले १५ विभागको संयोजक मनोनीत गर्दा पार्टीभित्रको प्रतिपक्षी संस्थापनइतरलाई जम्मा तीन विभागको मात्रै नेतृत्व दिए । यसअघि देउवाले एउटा समितिको संयोजक बनाएर पूर्णता दिँदा पनि आफ्नैको हालीमुहाली गराएका थिए ।
नेतृत्व पाएका १६ मा पुष्पा भुसाललाई महिला विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, योगेन्द्र चौधरीलाई थारू विभाग, गेहेन्द्र गिरीलाई ज्येष्ठ नागरिक समन्वय विभाग, आङगेलु शेर्पालाई पर्यटन विभाग, डा। रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, रंगमति शाहीलाई पिछडिएको क्षेत्र विभाग, गुरु बरालले आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलाले जिल्ला सम्पर्क समिति समन्वय विभाग र मदनकृष्ण श्रेष्ठले अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी पाएका छन् । यी सबै संस्थापन पक्षीय हुन् ।
संस्थापनइतरबाट कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभाग, प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग र किरण यादवले तराई मधेश समन्वय विभागको नेतृत्व पाए । यसअघि गठन भएको प्रचार विभाग प्रमुखमा पनि देउवाले आफू निकटका मीन विश्वकर्मालाई संयोजक बनाएका छन् ।
विभाग मात्र होइन, भएका समिति र भ्रातृ संस्थाका तदर्थ समिति संयोजक बनाउँदा पनि देउवाले मनोमानी गरेका छन् । ४ समितिको संयोजक बनाउँदा तीन जना आफ्नै समूहका बनाएका छन् । अनुशासन समिति संयोजक आनन्द ढुंगाना, लेखा समिति संयोजक श्यामककुमार घिमिरे र निर्वाचन समिति संयोजक पूर्वमहान्यायधिवक्ता खम्बबहादुर खाती देउवानिकट हुन् । सदस्यता वितरण केन्द्रीय समितिको संयोजकमा भने महामन्त्री गगन थापा छन् ।
१३ भ्रातृ संस्थामध्ये आठको तदर्थ समिति बनेका छन् । ती सबै संस्थापननिकट छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, तरुण दल अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषा राउत मिश्र, किसान महासंंघ अध्यक्ष गणेशचन्द्र तिमल्सिना, ठाकुर समाजमा अनिरुद्रप्रसाद ठाकुर, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अध्यक्ष ओमबहादुर घर्ती मगर, थारू संघ अध्यक्ष शिवनारायण महतो र लोकतान्त्रिक खेलकुद संघमा देवेन्द्रकुमार शेरचन संस्थापन पक्षका हुन् ।
दलित संघ, थारू संघ, मुस्लिम संघ, प्रजातन्त्र सेनानी संघ र अपांग संघको भने तदर्थ समिति बन्न सकेको छैन ।
महाधिवेशनमा निर्वाचनबाट चुनिएका शुभेच्छुक संस्थाको नेतृत्वमा भने संस्थापन पक्ष कमजोर देखिएको छ । महाधिवेशनबाट निर्वाचित हुने मुख्य संस्थाहरूमा इतरको वर्चस्व देखिन्छ । नेपाल शिक्षक संघमा अध्यक्षमा सोमनाथ गिरी, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन अध्यक्षमा सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल अध्यक्षमा लक्ष्मण केसी, प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भए । उनीहरू सबै इतर समूहका हुन् । ट्रेड युनियन कांग्रेसमा भने संस्थापनका योगेन्द्र कुँवरले बाजी मारेका छन् ।
निजामती कर्मचारी युनियन, प्रजातन्त्रवादी चिकित्सक संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघमा इतरको नेतृत्व छ । सांस्कृतिक महासंघ र प्रजातन्त्रवादी प्राध्यापक संघमा देउवानिकटको नेतृत्व छ ।
प्रतिक्रिया