२२ वर्षे युवा उद्यमी विधानको फड्को, लकडाउनमा थालेको ब्यापारबाट यसरी चम्किए

कोभिड– १९ को महामारीले कैयौं व्यवसायीलाई थला पार्यो । कोही सटर बन्द गरेर बेपत्ता भए । कसैलाई भाडा तिर्नै धौधौ भयो । तर, जसले प्रविधी, समयको माग, बजारको आवश्यकतालाई बुझे, उनीहरूले घाटा ब्योहोर्नु परेन । बरु लकडाउन कसैका लागि बरदान जस्तै साबित भईदियो ।
उमेरले २२ वर्ष पाईला टेकेका धादिङ गजुरीका विधान अधिकारी लकडाउनमै चम्किएका युवा उद्यमी हुन् । स्कुल पढ्दा उनी फुटबल खेलाडी बन्न चाहन्थे । तर, बुबा बिनोद अधिकारीले त्यतातिर लाग्न दिएनन् । कलेज पढ्दा उनले नेपाल आर्मी बन्ने रहर पाले । उनको त्यो रहर पनि पूरा भएन । व्यवसायमा भने उनी सफलतातर्फ लम्किरहेका छन् ।
बिधानको कथा सुरु गर्नु अघि अगाडी फर्काै। विधानकी आमा शान्ति त्रिपाठी अधिकारी र उनका मामा हरिभक्त त्रिपाठीले संयुक्त रुपमा महिलाहरूले लगाउने कपडाको ब्यापार गर्थे । आफ्नै फ्याक्ट्रीमा उत्पादन गरिएका लुगाको त्यो व्यवसाय राम्रै चलिरहेको थियो । तर, अचानक निम्तिएको कोरोना महामारीले व्यापार चौपट भयो । त्यसलाई चलाउन निकै मुस्किल भयो । यस्तो संकटका बेला कलिलो उमेरका बिधानले नयाँ जुक्ति निकाले । अनलाइन र सोसल मिडियाका माध्यमबाट मार्केटिङ गर्ने, युवा पुस्तामाझ आफ्ना उत्पादनहरु पुर्याउने ।

बिधानले भारतस्थित पुनेको एमआइटि डब्ल्युपियुमा कम्प्युटर इन्जिनियरिङ भर्ना गरे । त्यो सन् २०१९ को सुरुवातको कुरा हो । डेढ वर्ष बसेपछि नेपाल आएको भोलीपल्टै लकडाउन भईदियो । तर, त्यही बिपत्ति र आर्थिक संकटमा थालिएको व्यापारले उनी चम्किए । महिलाहरूका लागि कपडा उत्पादन गर्ने आउट्फिट क्रियशनलाई उनले ब्राण्डका रुपमा स्थापित गरिसकेका छन् ।
काठमाडौंको सितापाईलामा आफ्नै फ्याक्ट्री भएको आउट्फिट क्रियशनमा अहिले ७० वटा कपडा उत्पादन गर्ने मेसिन छन् । जहाँ टिसर्ट, पाइन्ट लगायत थरीथरी लुगाका आइटमहरु तयार हुन्छन् । १ सय २० माथी कालिगढले यहाँ प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोना अगाडी भने यहाँ १५ वटा मेसिनहरु मात्र उपलब्ध थिए । क्रमशः १५ बाट २०,४०,६० वटा मेसिन थपिए ।

अनलाइन मार्केटिङले मारेको छलाङ
दोस्रो लकडाउन पछिको कुरा हो । कपडा उत्पादनका लागि डिजाइनको खाका बिधानको मनमा बनिसकेको थियो । तर, खल्तीमा पैसा थिएन । कसरी सामान बिक्छ यस्तो बेलामा ? उनले बजार अनुसन्धान गर्न थाले । राजधानीका होलसेल पसलमा चहारे । ब्यापारीले उपत्यका बाहिर पठाउने सामानका बोराहरुमा नाम हेर्न थाले । सामान कहाँ–कहाँ पुग्छ ? त्यसबारे राम्ररी बुझे । फेसबुक लगायत सामाजिक सञ्जालमा सर्च गरे ।
सुरुमा न्युरोडमा ब्यापारीको एक होलसेल पसलमा बिधानले सामान पठाए । एकै पटक एउटा डिजाइनको एक सय पिस अर्डर आउन थाल्यो । जति अर्डर आए पनि एक दिनमै बिक्री हुन थाल्यो । दिनमै एक सय भन्दा बढी पिस उनले उत्पादन गर्न थाले । बिस्तारै दैनिक अर्डर दुई सय पिस भन्दा बढी आउँन थाल्यो । लेडिज आइटमहरु उत्पादन गरेर काठमाडौँ र उपत्यका बाहिरको बजारलाई बढी ध्यान दिन थाले ।
बजार कसरी चल्छ ? काठमाडौं र बाहिर कस्तो सामान चल्छ ? त्यो बारे राम्रै ज्ञान बटुले । त्यो कम्पनीले उत्पादन गरेका प्रोडक्टहरुको बजारमा उच्च माग बढ्दै गएपछि लुगाका बिभिन्न भेराइटीहरु थपिए ।

बिधानले आफ्नो कम्पनीका उत्पादनहरूलाई ब्यापक रुपमा डिजिटल मार्केटिङ गरे । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा राखे । जसले गर्दा उपभोक्तामाझ सजिलै पुग्न सघायो । सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रभावकारी पनि भयो । छिटै उनी ब्यापारमा स्थापित भए ।
कोरोना महामारीपछि चीनका नाकाहरु बन्द भए । उनी कपडाको कच्चा पदार्थ ल्याउन भारतसम्म पुगे । सुरत, नयाँ दिल्ली, अहमदाबाद, त्रिपुरासम्म पुगेर नयाँ-नयाँ भेराईटीहरु ल्याए । ‘म मा कन्फिडेन्स आयो । होलसेल पसलले मलाई विश्वास गर्न थाले ।’ उनले थपे, ‘व्यापारीहरुमा आउट्फिट क्रियशन कम्पनीले उत्पादन गरेको सामान चल्छ भन्ने धारणा विकास भयो ।’ अहिले उनको कारखानामा तयार भएका प्रोडक्ट एक हजार देखी २ हजार वटा होलसेल पसलसम्म नियमित पुग्छ ।
आफू सफल बन्नुमा कार्यालयका सम्पूर्ण कर्मचारी र लामो समयदेखी आफूलाई नजिकबाट साथ, सहयोग दिनु भएका मामा शैलेन्द्र खतिवडालाई उनी भुल्न सक्दैनन् । ‘शैलेन्द्र मामाको सरसल्लाह र महत्वपूर्ण साथ नभएको भए मलाई अघि बढ्न गार्हो हुन्थ्यो ।’ उनले भने ।

बिधानको ब्यस्त दैनिकी
सुरु–सुरुमा विधान दिनमा ४ घण्टा मात्र सुतेर काममै खटिन्थे । निरन्तर ६ महिना सम्म यसरी नै अहोरात्र खटिए । उनको काममा आमा शान्तिले पनि अहोरात्र साथ दिई नै रहिन् । उनको त्यो खटाई देखेर बुबा बिनोद छक्क पर्थे ।
दोस्रो लकडाउन खुलेपछि ब्यापार सधैँ उकालो लाग्यो । ‘मेरो ब्यापारमा कुनै कमी आएन । पहिले नेपाली उत्पादनलाई त्यति विश्वास गरिदैनथ्यो । तर, मैले गुणस्तर दिएँ । विश्वास पनि प्राप्त गरें ।’ उनले भने । जो तीन वर्षदेखीका नियमित ग्राहक थिए, उनीहरुसँग पारिवारिक सम्बन्ध गाँसियो । अहिलेसम्म झण्डै ४ सय पसलसँग आउटफिट क्रियशनको नियमित कारोबार हुन थाल्यो । पैसा पनि बचत हुन थाल्यो ।

ब्यस्त दैनिकी बिच उनले भारत पुणेको पढाइ बिचैमा छोडेर थापाथलीस्थत ब्रिटिश कलेजमा भर्ना भए । भारतमा पढ्दा ८ लाख रुपैंयाँ कलेजलाई बुझाईसकेका थिए । होस्टेल बस्दा २ लाख खर्च भईसकेको थियो । यता ब्रिटिश कलेजबाट कम्प्युटर साइन्समा बिएस्सी तहको अध्ययन पूरा गरे ।
कपडा आयातमा ठूलो रकम विदेशीएको उनले अनुभब गरे । चिनियाँ उत्पादनका कपडा जति लगाउन छोडिन्छ, त्यति नै देश विकास हुन्छ भन्ने निष्कर्षमा उनी पुगे । ‘बरु कच्चा पदार्थ ल्याएर यहाँ उत्पादन गर्दा राम्रो हुन्छ ।’ उनी तर्क गर्छन्, ‘धेरैले स्वदेशमा रोजगारी पनि पाउँछन् ।’
नेपाली उपभोक्तालाई विधानले केही सल्लाह दिए । ब्राण्ड र गुणस्तरका नाममा बढी महंगो मूल्य नतिर्न आम उपभोक्ताहरुलाई उनी सुझाउँछन् । बरु समय समयमा फेरेर कपडा किन्न उनी सल्लाह दिन्छन् ।
युवाहरुलाई सन्देश
विधानका अनुसार नेपालमै मिहिनेत गर्ने हो भने युवाहरुले अमेरिका, अष्टेलिया जानै पर्दैन । कुनै कुरामा हात नहालिकन, धक्का नखाईकन सफलता नमिल्ने उनको तर्क छ । उनी स्वयं पनि ६ देखी ८ महिना निरन्तर काममा यसरी ब्यस्त हुन्थे कि कसैलाई नभेटिकन पूरै काममा केन्द्रित भए । त्यस अगाडी त ‘यो केटा बिग्रियो केही गर्न सक्दैन’ समेत कतिले भन्ने गर्थे ।

‘म जहिले पनि आउट् अफ द बक्स सोच्थें ।’ हल्का अंग्रेजी मिश्रित लवजमा उनले भने, ‘कुनै कुरा थाल्नु अगाडी त्यसबारे गहिरो अध्ययन गर्थें । अर्को कुरा, घरमा अभिभाबकसँग सरसल्लाह गर्ने बानी । बा, आमाले आफू भन्दा बढी भोटो फटाईसकेका हुन्छन् । त्यसैले हरेक युवाले घरको समस्या, वास्तविकता बुझ्न र आमा, बुबासँग नजिक भएर काम गर्नु जरुरी हुन्छ भन्ने उनी ठान्छन् ।
विधानको अनुभबले भन्छ, जुनै काम पनि किन नहोस्, केही नसिक्नु भन्दा केही सिक्नु राम्रो हुन्छ । र, जस्तोसुकै काम गर्न पनि लाज मान्नु भएन । सुरुमा कायम गरेको छाप अन्तिमसम्म राखिरहन सक्नुपर्यो । अभिभावकहरुले १६ देखी २० वर्ष उमेरसम्म सन्तानहरुलाई कडा गर्छु भन्छन् । त्यसो गर्नु पनि राम्रो होईन भन्ने उनी ठान्छन् ।
खासमा विधान आम युवा जस्तै विदेशमा पढ्न जान चाहन्थे । तर, उनकी आमाले बाहिर पठाउने रहर गरिनन् । ‘मैले विदेश गएर दुःख गरें । आँखाभरी आँशु झार्दै आमाले नजाउ भन्नु भयो ।’ उनले त्यो पल सम्झिदै भने ‘बुबाले पनि कन्भिन्स गरेर बाहिर नजान सल्लाह दिनुभयो ।’ उनको परिवारका १६ जना जति त अहिले पनि मुलुक बाहिरै छन् ।

पैसा कमाउने तरीका
मानिसहरु घर जग्गामा पैसा लगानी गर्छन् । किनकी त्यसमा जोखिम त्यति हुँदैन । तर, त्यही पैसा व्यापारमा लगानी गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने बिधानको तर्क छ । यसबारे उनी आफैले संगालेको अनुभब छ । ‘आफूले गरिरहेको कामको लय छोड्नु भएन ।’ उनी भन्छन्, ‘अरु कसैबाट धेरै आश गर्नु हुँदैन । आफ्नो काममा भने निरन्तर गतिशिल हुनुपर्छ ।’










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया