सोमबार, माघ २६, २०८२

कोशीमा सत्ता राजनीति

विश्वासको मतभन्दा पहिला मन्त्रालय टुंग्याउनु पर्ने एमालेको माग, ५ मन्त्रालयमा दाबी

मेरोन्यूज २०८० असोज ३० गते १९:१४

काठमाडौँ । कोशी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुभन्दा पहिला मन्त्रालयको भागबण्डा टुंग्याउनु पर्ने शर्त अघि सारेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि बुधबार प्रदेश सभाको बैठक आह्वान भएको छ । त्यसभन्दा अघि मन्त्रालय भागबण्डा टुंग्याउन एमालेले दबाब दिएको हो । एमालेले ५ मन्त्रालयमा दाबी रहने पनि बताएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारीले आफूहरूले ५ मन्त्रालयमा दाबी गरेको र मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व मन्त्रालय भागबण्डा टुंगिनुपर्ने बताए ।

कोशीमा मुख्यमन्त्रीसहित नौ मन्त्रालय छन् । एमालेको सहयोगमा मुख्यमन्त्री कार्की एमालेले ५ मन्त्रालयमा दाबी गरेपछि भागबण्डा गर्न सकस परेको छ ।

एमालेले धेरै मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री कार्कीले मंगलबार एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउन गरेको तयारी रोकिएको छ । कुरा नमिल्ने भएपछि कार्कीले छलफल नै गरेनन् ।

‘आज मुख्यमन्त्री कार्की र हामी बसेर मन्त्रालय भागबण्डा र विश्वासको मतबारे छलफल गर्ने भनिएको थियो तर मुख्यमन्त्रीले समय अभाव भयो भनेर छलफल हुन सकेन’, एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘अव बुधबार बिहान बसेर छलफल गर्छौ ।’

कांग्रेसको शेखर समूहका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कोशीमा यसअघि एक वर्षको अवधिमा एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा २, २ पटक मुख्यमन्त्री बनेपछि एमालेका कार्कीले दोस्रो पटक विश्वासको मत नपाउने स्थिति बन्दा राजीनामा गर्न पुगेका थिए ।

संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

हिक्मतले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेपछि केदार कार्की एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ सांसदको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया