आइतबार, माघ २५, २०८२

कोशीमा राप्रपाले माग्यो प्रमुख प्रतिपक्षी दलको सुविधा

मेरोन्यूज २०८० कार्तिक २ गते १८:०७

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेश सभामा निवेदन दिएका छन् ।

बुधबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपामात्र विपक्षमा उभिएको थियो ।

विपक्षमा मतदान गरेकै कारण आफूहरूले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाले निवेदनमा माग गरेको छ ।

नेता सिटौलाले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्टरूपमा मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफूहरूले दाबी गरेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले बुधबार लिएको विश्वासको मतका पक्षमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ८६ मत परेको थियो । विपक्षमा राप्रपाका ५ सांसदले मत हालेका थिए ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्ड पाउँछन् । त्यस्तै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था कानुनमा छ ।

प्रतिक्रिया