शुक्रबार, चैत २०, २०८२

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

मेरोन्यूज २०८० कार्तिक ४ गते ९:२७

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताए। अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ ।

इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

सङ्घीय सरकारको रु १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उनले बताए। भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

स्वास्थ्यचौकीको रूपमा रहँदा नै बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो ।

प्रतिक्रिया