बिहीबार, वैशाख १०, २०८३

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

मेरोन्यूज २०८० कार्तिक १३ गते १५:१७

रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ ।

Advertisement
NiccNicc

गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए । उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ ।

माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए । “तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका बिक्री भइरहेको छ”, उनले भने,।

जिल्लामा गत आव २०७९र८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् दुई लाख ३१ हजार केजी उत्पादन भएको छ ।

जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ ।

स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उनको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया