आइतबार, वैशाख ६, २०८३

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

मेरोन्यूज २०८० कार्तिक १५ गते १८:५०

काठमाडौँ । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । लगानीमैत्री वातावरण बनाउन सरकारले आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेटमार्फत पनि लगानीकर्तालाई प्रोत्साहन गरिएको बताउँदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिए । नेपालमा लगानीमैत्री वातावरण बनेकाले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा नेपालले बाह्य लगानी भित्र्याउन चाहेको बताए । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश निर्यात गर्न तयारी गरेको जानकारी दिए ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले पछिल्ला वर्षहरुमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताए । नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बन्दै गएको बताए ।

प्रतिक्रिया