भूकम्पले खोसेको गोरख- शोभाको खुसी

कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ ।
यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।
घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा बस्दै आएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिएका थिए ।
दसैं मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी–बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बुबाआमा मावली सदरमुकाम खलङ्गास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए ।
उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार रातिको भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका–९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन् ।
सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने । गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।
सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् ।
उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन् । महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् ।
सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे । त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे ।
शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ । “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भने ।
सिंह पत्नी शोभा शाह भन्छिन्, “काख रित्तिएको छ । घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ । राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन । अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”
कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको । भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन् ।
यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन् । देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो । भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन् । जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया