शुक्रबार, चैत २०, २०८२

महिला टी-२० मा नेपालको लगातार दोस्रो हार

पराजयसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल

मेरोन्यूज २०८० कार्तिक ३० गते १४:०४

हङकङ । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको हो।

सिरिजमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ। नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो।

उता हङकङले भने सिरिजमा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। ओपनर नतासा माइल ३० र सन्जिन शहजाद २० रनमा नटआउट रहे। ओपनर मारिको हिल ५ रन बनाउँदा रन आउट भईन्।

त्यसअघि वाङ नाइमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भयो। नेपालका लागि रुबिना क्षेत्री वेलवासेले सर्वाधिक २५ रन बनाईन्। रुविनाले ३० बलमा ४ चौका प्रहार गर्दा बोल्ड आउट भईन्। सीता रानामगर क्याच आउट भईन्।

हङकङविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि रुविना बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपाललाई कम स्कोरमा रोक्न हङकङकी इकार सहारले ३ विकेट लिइन्। रुचिथा वेंकटेशले २ विकेट लिईन्। मारिको हिल र केरि चानले समान एक विकेट लिए।

हङकङविरुद्धको खेलमा विकेटकिपर कन्चन श्रेष्ठले डेब्यु गरेकी छिन्। बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी कञ्चनले ओपनिङ र मध्यक्रम दुबैमा ब्याटिङ गर्दै आएकी छिन्।

हङकङमा जारी महिला टी २० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।

नेपालले समुह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ।

समुहका शीर्ष २ टोलीले उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रतिक्रिया