शुक्रबार, माघ २३, २०८२

तीन महिनादेखि योजना बनाएर माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार, तीन जना पक्राउ

मेरोन्यूज २०८० मंसिर १ गते १६:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि तीन महिनादेखि योजना बनाएर खुकुरी प्रहार गरेको खुलेको छ । खुकुरी प्रहार गर्ने समुहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगर रहेका छन् ।

बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। उनीहरूको तत्काल परिचय खुलेको थिएन।

अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतीको प्रयोग गरिएको एसपी ढुंगेलले बताए।

उनकाअनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ। बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए। पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ।

खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए। बर्तौलालाई शेरबहादुरले पछाडीबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए। त्यहाँको निगरानी आशिषले गरेका थिए।

आक्रमणपछि दुबै जना भागेका थिए। शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए।

प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेका थिए। उनीहरू दुई जनालाई इलाम पुर्‍याउने काम टेकबहादुर प्रधानले गरेका थिए। त्यसबापत उनले रकम लिएका थिए।

यस्तै उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटक-पटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। चोरी तथा डाका, हातहतियार खरखजाना, लागुऔषध र ज्‍यानसम्बन्धी उद्योग जस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

प्रतिक्रिया