सोमबार, चैत ३०, २०८२

जेलमा रहेका इरानी र्‍यापर जमानतमा रिहा

मेरोन्यूज २०८० मंसिर ३ गते १६:३७

हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ अक्टोबरमा ३२ वर्षीय तुमाज सालेहीलाई पक्राउ गरिएको थियो ।

जुलाईमा सालेहीमाथि ‘भ्रष्टाचार’ को आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचार इरानको सबैभन्दा गम्भीर अपराधमध्ये एक हो र यसमा अधिकतम सजाय मृत्युदण्डको प्रावधान छ ।

र्यापर सालेहीका वकिल अमिर राइसिनले इरानको सुधारवादी अखबार सार्गलाई भने, “पुनरावेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सजायमा त्रुटिहरू फेला पारेको थियो र सालेहीलाई जमानतमा रिहा गर्न आदेश दियो ।”

सालेहीको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा रातभरि पोस्ट गरिएको एक तस्बिरमा उनलाई सेतो फूलहरूको गुच्छा समातेर जेलबाट बाहिरिएको देखाइएको छ ।

सालेहीविरुद्ध लगाइएका आरोपहरूमा इन्टरनेटमा भ्रम छरेको, राज्यविरुद्ध प्रचार गरेको, मानिसहरूलाई हिंसाका लागि उक्साएको र इरानको शत्रुतापूर्ण सरकारको सहयोगमा सुरक्षामा बाधा पुर्याउने उद्देश्यले अवैध समूहहरू गठन गरेको रहेका छन् ।

इरानी अधिकारीहरूले गत वर्षको विरोध प्रदर्शनलाई विदेशीले उक्साएको ‘दङ्गा’ भनेका छन् । सन् २०२२ सेप्टेम्बर १६ मा अमिनीको मृत्युपछि भएका महिनौँको अशान्तिले दर्जनौँ सुरक्षाकर्मी र सयौँ मानिस मारिएका थिए । साथै हजारौँलाई पक्राउ गरिएको थियो । सुरक्षा बलविरुद्ध हत्या र अन्य हिंसासम्बन्धी मुद्दामा सात जनालाई मृत्युदण्ड दिइएको छ ।

प्रतिक्रिया