सोमबार, चैत ३०, २०८२

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

मेरोन्यूज २०८० मंसिर ९ गते ७:०२

दमौली । चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurence

वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले राससलाई जानकारी दिए । बिहान ७ बजे देवघाटधामको वेणी सङ्गमबाट सुरु हुने परिक्रमाअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्न्यास आश्रम, अभय सन्न्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्न्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला वागिश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

नवलपुरतर्फ गैँडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेद विद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ ।

आँखा शिविर

यसैबीच, तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर सुरु भएको छ । शिविर सञ्चालनको पहिलो दिन शुक्रबार नेत्र परीक्षण गरिएका चार सय जनामध्ये एक सय पाँच जनाको मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने नगरका स्वास्थ्य प्रमुख ईश्वरीचन्द्र भट्टराईले राससलाई जानकारी दिए ।

भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ चितवन, लायन्स क्लब अफ नारायणगढ, नारायणगढ लायन्स क्लब, भानु नगरपालिका र भानु स्वास्थ्य शाखाको समन्वयमा आयोजित शिविरमा आज र भोलि शल्यक्रिया गरिने छ । शिविरमा सेवाग्राहीलाई सहजरुपमा पुग्न नगरपालिकाले निःशुल्क बसको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया