मंगलबार, वैशाख १५, २०८३

स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल बर्खास्त गर्न डा. केसीको माग

मेरोन्यूज २०८० मंसिर १० गते १३:५२

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

Advertisement
NiccNicc

मन्त्री बस्नेतले आफुलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएपछि आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन्।

डा. केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै उनी पदमा बसिरहनु लोकतान्त्रिक मूल्य/मान्यताको बर्खिलाप भएको बताएका छन् ।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’

यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा. केसीले लगाएका छन्। ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’, उनले विज्ञेप्तिमा भनेका छन्।

प्रतिक्रिया