आइतबार, चैत २९, २०८२

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

मेरोन्यूज २०८० मंसिर १३ गते १४:५२

नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो ९सेकेन्डरी० बजारमा पनि लगानी गरेका छौं’, नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारस तिमिल्सिनाले भने । उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए ।

‘आवश्यक खर्च शेयर बजारबाट आएको छ’, तिमिल्सिना भन्छन् । एक हजार रुपैयाँ लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब दुई लाखको पोर्टफोलियो बनाएको बताए ।

‘हाम्रो कलेजका धेरै साथीले शेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ’, तिमिल्सिनाले भने । तिमिल्सिनाले एक वर्षदेखि शेयर बजारको प्राथमिक र दोस्रो बजारमा कारोबार गर्दै आएका छन् ।

अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि शेयर बजारमा लगानी गरेर सफल व्यवसायी भएका छन् । दश जोड दुईको अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गरेका भट्टराईले शेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गरेका उनले शेयर बजारको स्वअध्ययन र अग्रजसँग सिकेर बजारमा छिरेको बताए । ‘अहिले म शेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु’, उनले भने ।

भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिन्छन् । ‘जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ’, उनी भन्छन् ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लि ९४५० नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी शेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले शेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताए ।

विद्यार्थीले एक सयमा खरिद गरेको शेयर रु दुई सयमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए ।

‘विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ’, अधिकारीले भने । शेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।

अधिकारीले केही लगानीकर्ताले एकै दिन ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक एक करोड ४५ लाख रुपैयाँको शेयर कारोबार हुने बताए । ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता छन् । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया