मंगलबार, कार्तिक २०, २०८१

इन्डियन आइडलमा मेनुकाको ‘तहल्का’

उर्मिला शर्मा २०८० मंसिर १८ गते २१:०५

काडमाडौं । मेनुका पौडेल यतीबेला आफ्नो स्वरले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा तहल्का मच्चाइरहेकी छिन् ।

Advertisement

उनको एक पछि अर्को प्रस्तुतिले जज र दर्शकहरूको मन जितिरहेको छ । उनको प्रस्तुतीले वाहीवाही मात्रै पाएको छैन, कयौँलाई आश्चर्यचकित र भावुक समेत बनाउने गरेको छ ।

२०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । उनी दृष्टिविहीन भएको थाहा पाएर उनका बुबा आमाले निको पार्न हरसम्भव प्रयास गरेका थिए । अस्पताल, धामी/झाक्री जहाँ पुर्‍याउँदा पनि केही सिप लागेन ।

मेनुका चार वर्षकी भएपछि उनका बुबाले हास्टेलमा लगेर राखिदिए। जहाँ उनीजस्तै दृष्टिविहीन बालबालिका आश्रय लिइरहेका थिए ।

मेनुका आफु बालापनमा निकै चञ्चले र छुच्ची स्वभावकी भएको बताउँछिन् । उनको बाल्यकालदेखि नै एक्लैएक्लै हिँड्ने आदत थियो । ह्वाइट केन हातमा समातेर उनी शहरबजार जतासुकै एक्लै आउजाउ गर्छिन् ।

४-५ वर्षकै उमेरमा हार्मोनियमको धुन उनको कानमा गुञ्जिएको थियो । आफु बस्ने होस्टेलमा संगित सिकाइने थाहा पाएपछि उनीमा पनि गायनमा मोह जाग्यो ।

उनले गाएको सुन्दा शिक्षक-शिक्षिकाले प्रशंसा गर्दै हौसला बढाइदिन्थे । मेनुकाले सानै उमेरबाट विभिन्न प्रोग्रामहरुमा गाउने अवसर पाएकी थिइन् । र सँधै अब्बल साबित हुन्थिन् ।

पढाइमा जेहेन्दार थिइन् मेनुका । ब्रेललिपिमा लेखपढ गरेकी उनी एसएलसीमा राम्रो अंक ल्याएर पास भइन् ।

मेनुकालाई एसएलसीपछि काठमाडौं आएर संगीत अध्ययन गर्ने ठुलो रहर थियो । यसकालागि उनले संगीत क्षेत्रका केहीलाई सम्पर्क गरि सहयोग मागिन् ।

१/२ जनाबाट सहयोगको आश्वासन पाएपछि २०७२ सालमा उनी आफ्ना बुबासँग काठमाडौं आइन् । बुबाले उनलाई सिर्जना कलेजमा भर्ना गरेर फर्किए । उनी यताउती आवतरजावत गर्न पनि कसैको सहयोग लिँदिन थिइन् ।

कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टेलमा बसेर उनी आकाशेधारामा रहेको म्युजिक कलेज धाउँथिन् ।

काठमाडौं आएको केहिसमयमै रेडियो नेपालमा राष्ट्रिय गायन प्रतियोगिता हुन लागेको थियो । त्यस प्रतियोगितामा मेनुकाले भाग लिइन् र प्रथम भइन् । योसंगै उनको हौसला थपियो ।

त्यसपछि मेनुका २०७४ सालमा नेपाल आइडलको मञ्च पुगिन् । त्यसबेला उनी १८ बर्षकी थिइन् । मेनुका नेपाल आइडलमा टप ११ पुगेर आउट भइन् । तर उनको लाकप्रियता भने चुलियो । विश्वभरका नेपालीहरु उनको स्वरका दिवाना भए ।

नेपाल आइडलपछि मेनुकाको करियरले नयाँ उचाइ लिएको थियो । उनले फिल्मका लागि समेत गित गाउने मौका पाइन् । दुवई, कतारमा सांगितिक प्रतियोगितामा प्रस्तुती दिन पुगिन् ।

तर उनीमा संगीत सिक्ने भोक भने मेटिएको थिएन । उनले मुम्बइ गएर संगित सिक्ने सोच बुनिन् । यसैबेला भारतमा रियालिटी शो सारेगमप को नयाँ संस्करण हुन लागेको खबर मेनुकाले पाइन् । यसका लागि उनले जी टिभी सँग सम्पर्क गरिन् । त्यहाँबाट भिडियो अडिसन हुने बुझेपछि उनीपनि सहभागी भइन् र सेलेक्ट भइन् पनि ।

आगामी अडिसन काठमाडौंमै भयो । सयौंलाई पछाडी पार्दै उनले अर्को चरणका लागि कोलकता जाने अवसर पाइन् । त्यहाँबाट पनि छानिएर उनी अडिसन दिन मुम्बइ पुगिन् ।

मुम्बइको अडिसनमा उनले लता मंगेशकरको जाने क्या बात है… गाएकी थिइन् । उनको प्रस्तुतीले जजहरु पनि मन्त्रमुग्ध भएका थिए । भारतीय चर्चित गायक उदितनारायण झा बाट पनि उनले प्रशंसा पाएकी थिइन् । संयोगवस सारेगमपबाट पनि उनी टप ११ बाट बाहिरिइन् ।

मेनुका अहिले इन्डीयन आइडलको १४ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी छन् । त्यहाँ उनले अडिसनबाटै वाहवाह पाइरहेकी छन् ।

उनले गाउँदा निर्णायक रहेकी श्रीया घोषाल भन्कानिएकी थिइन् । अन्य जजहरुले पनि उठेर स्ट्याडिङ अवेशन दिएका थिए । अडिसनमै गोल्डेन माइक पाएर उनले सिधै थियटर राउन्डमा स्थान बनाएकी थिइन् ।

आइडलको पछिल्लो एक एपिसोडमा अतिथि बनेर आएका रणवीर कपुर पनि उनको स्वरबाट मन्त्रमुग्ध भएका थिए । त्यस्बेला मेनुकाले रणवीर अभिनित चलचित्र तमासाको अगर तुम साथ हो गाएकी थिइन् । रणवीर स्टेजमै गएर मेनुकाको पाउ छोइ आशिर्वाद लिएका थिए । साथै मेनुकालाई साक्षात देवी भनेका थिए ।

आइतबार उनले ‘चन्दनसा बदन, चन्दन चितवन…’ गीत गाएकी थिइन् । गीत गाएपछि उनले निर्णायक तथा अतिथिलाई आफ्नै हातले बनाएको खीरसमेत खुवाइन् ।

अहिले मेनुका नेपाल, भारतमात्र नभएर विश्वभर आफ्नो जादुमय स्वरले धमाका मच्चाइरहेकी छन् । उनको स्वर सुनेर दिवाना नहुने सायदै कोही होलान् ।

मनमा इच्छा शक्ति र बलियो आत्मविश्वास भए असम्भव केही छैन भन्ने उदाहरण बनेकी छन् उनी । संगितमा रुची राख्ने जो कोहिका लागि पनि मेनुका प्रेरणाको पात्र बन्न सक्छिन् ।

प्रतिक्रिया