रोजगारी खोज्दै विदेश पुगेका भोजबहादुर भन्छन् स्वदेशमै मिल्यो आत्मसन्तुष्टी

बागलुङ । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहोरा ।
रोजगारीका सिलसिलामा केही वर्ष कतार र मालदिभ्समा श्रम खर्च गरेका उनी यतिबेला भने गाउँमै कृषि व्यवसायमा रमाएका छन् । “पैसा कमाउन विदेश त गइयो, तर भने जस्तो भएन । अहिले गाउँमै गरेको कृषि व्यवसायले आत्मसन्तुष्टि दिएको छ”, बोहोराले सुनाए ।
बोहोरा विसं २०६४ सालमा रोजगारीका सिलसिलामा कतार पुगे । त्यहाँ उनले भने जस्तो काम पाएनन् । कतारमा एक वर्ष बिताउँदा पैसा कमाउनुको साटो ऋण बोकेर घर फर्किनु पर्यो । त्यसपछि उनी मालदिभ्स पुगे । त्यहाँ पनि तीन वर्ष काम गर्दा भने जस्तो पैसा जम्मा भएन ।
कतार र मालदिभ्समा काम गरेपछि उनलाई काम खोज्दै अर्को देश जान मन लागेन । त्यसपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरे । “गाउँ फर्केर बाँझो जग्गामा व्यवसायिक खेती सुरु गरेको १२ वर्ष भयो, आम्दानी त यहाँ पनि असाध्यै राम्रो त छैन तर आत्मसन्तुष्टि भने मिलेको छ”, उनले भने, “मालदिभ्समा कमाएको पैसा श्रीमतिलाई विदेश पठाउँदा खर्च भयो । श्रीमति फर्केर आइनन् । उतै घरजम गरिन । त्यसपछि फर्किर विदेश जान मलाई मनले दिएन । जे गरे पनि गाउँमै गर्छु भन्ने लाग्यो ।” त्यसपछि उनले दोस्रो विवाह गरे ।
श्रीमती र छोरासहितको तीन जनाको उनको परिवार अहिले कृषिमै निर्भर छ । उनले हाल छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टनेलमार्फत गोलभेडा, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलाएका छन् ।
उनको फार्ममा कागती, सुन्तला, अमिलोलगायतका फलफूल पनि छन् । साथमा एउटा दुहुनो गाई, एउटा भैँसी, कुटानीपिसानी मेसिन, पाँच वटा बाख्रा र एक दर्जन कुखुरा पनि छन् । “फार्म र परिवारको खर्च कटाएर केही रकम बचत समेत गर्न भ्याएको छु”, उनले भने ।
‘बोहोरा पशु तथा कृषि फार्म दर्ता’मार्फत उनले कृषि ज्ञान केन्द्र बागलुङबाट रु सात लाख अनुदान पाइसकेका छन् । “श्रीमती फूलमाया रानाले मलाई सहयोग गर्छिन, तरकारीसँगै दूध, बाख्रा पनि बिक्री भइरहेको हुन्छ”, उनले भने, “आम्दानी भइरहेकाले सजिलो भएको छ ।”
बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाएका छन् । स्थानीय तहले तरकारी उत्पादनको बजार सुनिश्चित गरिदिए आफू जस्ता किसानलाई सहज हुने उनको भनाइ छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
प्रतिक्रिया