चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।
यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताउनुभयो । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भएको उनको भनाइ थियो ।“यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ”, राउतले भने, “चिराइतो र यसको बीउ गरेर रु १८ लाखको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन रु ४४ हजारमा बेचेँ अहिले प्रतिमन रु ५० हजारमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ ।”
यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताए। “यस वर्ष चिराइतोको मूल्य बढेको अवस्था छ”, उनले भने, “जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।”
टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र रु एक करोड ६५ लाखको चिराइतो उठाएको उनको भनाइ थियो । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी राईले जानकारी दिए । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उनको भनाइ थियो ।
अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताए ।
ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताउनुभयो । “यसको महत्व धेरै छ”, उनले भने, “धैरै वर्षको अन्तरालमा चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ । यसले हामी किसानमा थप हौसला मिलेको छ ।”
एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन् ।
















निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया