शुक्रबार, चैत २७, २०८२

कैलालीमा गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

मेरोन्यूज २०८० पुष १० गते ८:५०

कैलाली । गौशालाको स्तरोन्नतिका लागि यहाँ आयोजना गरिएको महायज्ञबाट रु नौ लाख ६७ हजार आम्दानी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ । महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई रु नौ लाख ६७ हजार बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा रु १२ लाख एक हजार दानबाट, रु चार लाख ४५ हजार कलश बिक्रीबाट, रु एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी दिए । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।

“गाईका लागि आहाराको अभाव छ, चिसो मौसममा छाना छैन, हाल तीन सय वस्तुभाउ मात्र अट्ने गोठ छन्, तत्काल गोठ निर्माण गर्नुपर्नेछ”, सामुदायिक चौपाया व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बिसीले भने, “पशुका लागि आहारा, औषधि जुटाउन सहयोग पुग्नेछ ।”

हाल गौशालामा सात सय बढी गाई छन् । विगतमा टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको पशुचौपाया गत जेठदेखि स्थानीय युवाले संरक्षण थालेका हुन् । विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका हुन् ।

गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान–बेलुका दुई–दुई घण्टा ५५ घरलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ । गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालीन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् । युवाले गाईको गोबर मल बिक्री गर्ने, गोबरबाटै दियो, धुपबत्ती, विभिन्न मूर्ति निर्माण गर्ने गरेका छन् ।

प्रतिक्रिया