संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित

घोराही (दाङ) । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनले बताईन् । चौधरीले थारुको पहिचानका रुपमा रहेका बड्का नाँच, छोक्रा नाँच र सख्या नाच नाच्न सिकेकी छन् ।
“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो,” उनले भनिन्, “तर अहिले सहज हुँदै गएको छ । आफ्नो जातिगत वेषभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै चौधरीलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको चौधरीले बताईन् ।
विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरी बताउछिन् । अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ ।
“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु”, उनले भने, “कला सस्कृतिका बारेमा ज्ञान पाइनुका साथै आम्दानीसमेत हुने गरेको छ ।”
पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन् । यो क्रम बढ्दै गएको छ । घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताए ।
“थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, उनले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगेको छ ।”
थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । थारु कला संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरी बताउनुहुन्छ । थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया