एकसाथ चार चलचित्र छायाङ्कन हुँदै

काठमाडौँ । अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ ।
विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।
काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिए । “हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ”, उनले भने । यसको अन्तिम चरणको काम भइरहेको उनले जानकारी दिए । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका छन् ।
यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर रहेकी छिन् ।
रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहनु भएको छ । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्ने छन् ।
शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।
चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहेको छ । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया