सोमबार, चैत २३, २०८२

कामपाको १४औँ नगरसभामा नौ करोड बजेट संशोधन प्रस्ताव

मेरोन्यूज २०८० पुष २९ गते १९:०९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा रु नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षतामा आज भएको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डङ्गोलले पेस गरेकी हुन् ।

कामपाकोे १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका लागि रु २४ अर्ब चार करोड ५४ लाख एक हजार विनियोजन गरिएको थियो ।

विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डङ्गोलको भनाइ छ । यसमध्ये यही पुस २६ गतेसम्ममा रु चार अर्ब २७ करोड ४१ लाख ५० हजार खर्च भएको छ बताइएको छ ।

सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डङ्गोलले भनिन्, “अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ ।”

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ । “कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६।४७ प्रतिशत खर्च भएको छ,” उनले भनिन्, “विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखाङ्कन भई नसकेका कारण वित्तीय प्रगति कम देखिएको छ ।”

चालु आवमा वर्षमा राजश्व आम्दानीतर्फ रु १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य रु ६ अर्ब ३९ करोड २० लाख छ । यसमध्ये पुस रु २६ गतेसम्ममा रु चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ सङ्कलन भएको छ ।

कामपा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजश्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन् ।

यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया