गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

गण्डकी । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिए । “किसान, बीउबिजन व्यापारी, कृषि क्षेत्रका विज्ञदेखि सरोकार भएका सबै पक्षलाई समितिको बैठकमा बोलाएर विधेयकमाथि सघन हिसाबले छलफल गर्यौं”, उनले भने, “विज्ञलगायतबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित विधेयक समितिबाट पारित भएको छ ।” सभापति देवकोटाले अबको हिउँदे अधिवेशनमा उक्त विधेयक प्रदेशसभामा पेस हुने बताए ।
प्रदेशसभामा दफाबार छलफलपछि उक्त विधेयक पारित हुने र ऐनको रुपमा कार्यान्वयनमा आउने उनको भनाइ छ । समितिमा भएको विधेयकमाथिको छलफलका क्रममा बाली विज्ञ, बीउ उत्पादक किसान, व्यवसायीलगायतलाई सहभागी गराइएको सभापति देवकोटाले बताए । “विधेयकलाई कार्यान्वयमुखी बनाउनुपर्छ भन्नेमा सबैको जोड रह्यो, विधेयकले बीउबिजनसँग सम्बन्धित समग्र विषयलाई सम्बोधन गरेको छ”, उनले भने ।
प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले उक्त विधेयकमा गरिएका व्यवस्थाले गण्डकी प्रदेशभित्रका बीउबिजन उत्पादन गर्ने किसान र व्यापारीलाई सहजता थपिने बताए । “बीउबिजनको प्रमाणीकरणका लागि संघ सरकारसँग भर पर्नुपर्ने अवस्था थियो, अब प्रदेशमै बीउबिजन गुण नियन्त्रण केन्द्र”, उनले भने ।
प्राकृतिक विपद्, रोककिरा आदि कारणले किसानले उत्पादन गरेको बीउबिजन नष्ट भएमा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था विधेयमा रहेको उनले बताए । “यदि बिक्रेताले गुणस्तरहीन या गलत बीउबिजन दिएका कारण किसानले कुनै आर्थिक क्षति व्यहोर्नुपरेमा सम्बन्धित व्यापारीले किसानलाई क्षतिपूर्ति दिनेपर्ने प्रावधान विधेयकमा छ”, वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले भने ।
किसानलाई उन्नत, सुलभ र गुणस्तरयुक्त बीउबिजन उपलब्ध गराउने र प्रदेशलाई बीउबिजनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विधेयकमा नीतिगत व्यवस्था गरिएको उनको भनाइ छ । विधेयक निर्माण गर्दा रैथाने बालीको पनि संरक्षण र प्रवर्द्धनमा जोड दिइएको वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले बताए । बीउबिजनको उत्पादन, उपलब्धता र आपूर्तिको सुनिश्चिताका लागि विधेयकमा कानुनी प्रबन्ध गरिएको उनको भनाइ छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया