महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

दमौली (तनहुँ) । तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।
महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् ।
मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका–३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ । मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको जानकारी दिए ।
उनले भने, “महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने कार्यक्रम हुँदैछ भन्ने जानकारीमा आएपछि दमौली आइपुगेका हौँ । मेलामा मुस्ताङमा उत्पादित अर्गानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।” रसाइलीका अनुसार सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ ।
मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका–११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सङ्घले पहिलो पटक व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिए। उत्पादित सामग्रीको बजारीकरणमा सहयोग पु¥याउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
अध्यक्ष मल्लले भने, “परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।” उनका अनुसार मेलामा ५० स्टल रहेका छन् ।
मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइनेछ ।
तीन दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शक रहने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब रू सात लाख खर्च हुनेछ । लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताए । उनले भने, “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग पुग्नेछ ।”


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया