बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
“कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ”, वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।”
पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ । सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिए। उनका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।
उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ । सुरुमा २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताए ।
उत्पादन सुरु भएपछि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ । “उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ । साथै समग्र माङसेबुङ गाउँपालिका वा १ नं वडाको पहिचान÷अपनत्व झल्कने गरी ब्राण्डिङ गरिनेछ”, वडाध्यक्ष योङहाङले भने । बेसार गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको वडाध्यक्ष योङहाङले जानकारी दिए ।
इलाममा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । यस वर्ष इलाममा एक हजार नौ सय सात मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । बेसार १० गुणा बढी फल्ने किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानको भनाइ छ ।
बेसार विभिन्न जाताका हुन्छन् । मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ । यसलाई औषधीय गुणका रूपमा लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकार बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’बाट पनि बचाउँछ ।
बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो । समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइसम्म बेसारखेती गर्न सकिन्छ । यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ ।
इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसारखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेसारखेती नगदे बाली भएकाले यसप्रति किसानको आकर्षण बढेको केन्द्रका निमित्त प्रमुख यादव बताउछन् ।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया