मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । साताैँ दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् ।
हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद् होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् । विश्रामस्थल ध्रुवकुण्ड वरिपरि मुस्लिम बसोबास बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुशरण गर्दै यात्रीको बिदाइ गरेका हुन् ।
“हामी वर्षौँवर्षदेखि मिलेर बसेका छौँ, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो”, ध्रुवकुण्ड नजिकैको अधियानपुर बस्तीका शेष अमानुल्ला भन्छन् । यसले फरक धर्म परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेसाबाट अवकाश लिएका अमानुल्लाको भनाइ छ ।
जिल्लामा मुस्लिम समुदाय (इस्लाम धर्मावलम्बी) को सघन बसोबास रहेको धमौरामा मिथिला मध्यमा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आपूmहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।
यात्री आइपुग्दा स्थानीय संस्कृतिअनुसार गम्छा ओढाएर र बिदाइ गरिँदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम सबैका लागि उपलब्ध रहँदै आएका देखिन्छन् । मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको भाव आइरहनोस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउनुहुन्छ ।
धमौैराका धमौराबजार, रौजाबजार र अधियानपुरको माझमा ध्रुवकुण्ड छ । यी वरपरका बस्ती मुस्लिम बाहुल्य भए पनि आपूmहरूको वास्तामा कुनै कमी महसुस नहुने गरेको यात्री बताउँछन् । यहाँ आइपुग्दा र निस्कँदा स्थानीय मुस्लिमले गर्ने स्वागत र बिदाइ परम्परा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावको खास नमूना भएको अग्निकुण्ड मठका महन्थ नवलकिशोर दास शरण बतानछन् ।
धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो । यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आपूmहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दूमुस्लिम बताउँछन् ।
माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू र इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरिएको धमौराबजारका बासिन्दा ८० वर्षीय हासिम कवारी बताउछन् ।
मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकापसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता छ । कञ्चनवनपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया