आइतबार, चैत २९, २०८२

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० चैत ४ गते १४:४५

पोखरा (कास्की) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।”

उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए ।

“पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।”

लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे ।

प्रतिक्रिया