घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे ।
यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५५ हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको सो प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना सहभागी भएका थिए ।
घोडा दौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताका संयोजक वीरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवद्र्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ”, घोडेपानीका घोडा व्यवसायी याम पुनले भने, “सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटक घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ”
घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । घोडा दौड अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकको उपस्थिति थियो ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।
घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ नागरिकलाई भारतीय बजार जाने आउने माध्यम घोडा नै थिए ।
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया