शुक्रबार, चैत २७, २०८२

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने

मेरोन्यूज २०८० चैत १५ गते २१:२५

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरे ।

उनले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितिकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेको बताए । गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै उनले बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको भनाइ राखे ।

सो क्रममा राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । विकासमा साझेदारी अनन्तकालसम्म रहने राजदूत फेनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया