विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा)घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो ।
परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताए । उनले भने, “प्रदेशमै पहिलोपटक यस गाउँपालिकाका पाँच विद्यालयलाई तीन तारा घोषणापछि गाउँभर सकारात्मक सन्देश प्रवाह भएको छ, आउँदो वर्षदेखि गाउँपालिकाका बाँकी सबै विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रमलाई अघि बढाइने छ ।”
परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । उक्त कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकामा हाल ३३ विद्यालयमा सञ्चालमा छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताए ।
फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा २०२२ देखि सहजीकरण गरिरहेको उक्त कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा पूरा गराउनेगरी कार्य भइरहेको बताए । उहाँका अनुसार यसअघि पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ वातावरण, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीन तारा घोषणा गरिएको हो ।
गाउँपालिकाको वडा नं ६ स्थित प्रभा माध्यमिक विद्यालय, वडा नं ७ को सिर्जनशील जनता मावि, वडा नं ५ स्थित अरनिको मावि र जागृति मावि तथा वडा नं ३ को बुद्ध हिमालय माविले सरकारले तोकेका १० मापदण्ड पूरा गरेका थिए । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटर एडको सहयोग र सिविक फोरमको साझेदारी थियो ।
नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ भने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य ९एसडिजी०को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित खानेपानी र सरसफाइमा विशेष जोड दिइएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया