तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…

कास्की । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन्। लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेका स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन्।
बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए। बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ।
सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताए। ‘सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए’, बरालले भने, ‘तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे।’
बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताए। पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो। थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताए। बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गरे।
बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए। पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आएका थिए। बाख्रासँगै उनले कुखुरापालन गरेका छन्। बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गरेकोमा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाएका थिए।
‘सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ’, बरालले भने। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए।
हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए। ‘विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो। त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ। धेरै ढिला भएकाले उपलब्धि भएन’, उनले भने।
सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताए। पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए।
















टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया