सोमबार, चैत २, २०८२

तनहुँमा शैक्षिकसत्रअगावै आइपुगे पाठ्यपुस्तक

मेरोन्यूज २०८० चैत १९ गते १३:३५

दमौली (तनहुँ) । आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठ्यपुस्तक आइसकेका छन् ।

श्रेष्ठले भने, “पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठ्यपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।” उनका अनुसार जिल्लाभरि ६५ पुस्तक व्यवसायी छन् ।

सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले जानकारी दिए। सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् ।

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताए । उनले भने, “पुस्तक व्यवसायीले चैत २० गतेभित्र सबै पुस्तक ल्याउँछौँ भन्नुभएको छ । पुस्तक आएपछि वितरणका लागि इकाइले सहमति दिएसँगै वितरण थालिनेछ ।” इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिए। उनले भने, “अहिले वार्षिक परीक्षा अन्तिम चरणमा छ । चैत २७ गते नतिजा प्रकाशन भएपछि यो महिनाभित्रै विद्यार्थीको हातमा पुस्तक पु¥याउछौँ ।”

प्रतिक्रिया