मंगलबार, वैशाख ८, २०८३

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन

मेरोन्यूज २०८० चैत २१ गते १९:१५

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

Advertisement
NiccNicc

सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिए।

लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उनले बताए । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमको भनाइ छ ।

वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकाले हिउँ धेरै पग्लने र वर्षा बढी हुने सम्भावन बढ्ने भन्दै उत्पादन पनि बढ्दै जाने इञ्जीनीयर गौतमले बताए । सुख्खा मौसममा विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेर विद्युत् उत्पादन पनि घट्ने गरेको गौतमले बताए ।

यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया