सोमबार, फागुन ४, २०८२

८ महिनामा ३७ करोड बराबरको अवैध सामान बरामद

मेरोन्यूज २०८० चैत २८ गते २०:२८

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा रु ३६ करोड ८४ लाख ८३ हजार दुई सय ६० मूल्य पर्ने अवैध सामान बरामद गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीको सक्रियताले पछिल्ला समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री नियन्त्रणमा लिने क्रम बढेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेविरुद्ध प्रहरीले कारबाही गरिरहेको बताए ।

“नेपाल प्रहरीले एक सातामा भन्सार छली गरेर ल्याएका करिब रु एक करोड मूल्य पर्ने सामान तथा वस्तु नियन्त्रणमा लिँदै आइरहेको छ”, उनले भने, “चोरीरतस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने गर्छौं, बिलबिजकअनुसारको नभए राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेका छौँ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले खुला सीमाका कारण चोरी तस्करी सक्रिय भएको बताए । “पर्सा जिल्लाको सिमाना भारतसँग एक सय ७० किलोमिटर जोडिएको छ”, उनले भने, “चोरी तस्करी नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिँदै आइरहेको छु” ।

चालु आवको चैत २२ गतेसम्मको अवधिमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा रु ३१ करोड ८९ लाख ७३ हजार मूल्य पर्ने सामान बुझाएको छ । त्यस्तै भन्सार कार्यालय वीरगञ्जलाई रु चार करोड ९५ लाख नौ हजार दुई सय ७३ मूल्य पर्ने सामान बरामद गरी बुझाएको छ ।

प्रहरीले अघिल्लो आव २०७९/८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको थियो । जसमा किरानाको सामान रु आठ करोड तीन लाख पाँच हजार नौ सय ७५ मूल्य बराबरको थियो । त्यसैगरी विद्युतीय सामग्री रु एक करोड ८० लाख मूल्य बराबरको थियो ।

त्यसैगरी अघिल्लो आवमै सवारीसाधनको पार्टपुर्जा सम्बन्धि रु १५ करोड ५८ लाख ७७ हजारको बरामद गरेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लत्ताकपडा रु २२ करोड ३५ लाख ६६ हजार मूल्य बराबरको बरामद गरेको र गत आवमा चोरी तस्करीमा संलग्न १५ अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गत आवमा ९५ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया